७ चैत, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चैत १ देखि ४ गते सम्म आवेदन भर्न पाउने गरी निष्काशन गरेको २५ लाख ५८ हजार १४० कित्ता थप नयाँ साधारण सेयर (एफपीओ)मा ३८ अर्ब २० कराेड ९४ लाख ९३ हजार५४० रूपैयाँको आवेदन परेको छ । नेपाल धिताेपत्र बाेर्डका अनुसार २ लाख २३ हजार ३०८ वटा अावेदनबाट उक्त रकमकाे सेयर माग भएकाे हाे ।
आश्वा प्रणालीमार्फत ८४ हजार ९ सय १६ वटा आवेदक मार्फत २४ अर्ब ५२ करोड ८ लाख ११ हजार ६ सय ८० रुपैयाँ बराबरको आवेदन परेको छ । त्यसैगरी, नगद तथा चेक फारम मार्फत १ लाख ३८ हजार ३९२ आवेदकले १३ अर्ब ६८ करोड ८६ लाख ८१ हजार ८ सय ६० रुपैयाँ बराबरको सेयर माग भएकाे छ । याे अार्इतबार साँझसम्म धिताेपत्र बाेर्डलार्इ प्राप्त विवरण हाे ।
शुक्रबार रातीसम्म २८ अर्ब ४९ कराेड रूपैयाँकाे अावेदन परेकाे विवरण एनएमवी क्यापिटलले दिएकाे थियाे । अाइतबार मात्र थप १० अर्ब अावेदन परेकाे विवरण बाेर्डले दिएकाे छ ।
चार्टर्डले चैत एक गते मंगलबारदेखि फेस भ्यालू एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम जोडेर १२ सय ९० रुपैयाँका दरले तीन अर्ब ३० करोड रुपैयाँ बराबरको २५ लाख ५८ हजार १४० कित्ता थप नयाँ सेयर (एफपिओ) निष्काशन गरेको थियो ।
हाल बैंकको चुक्ता पूँजी तीन अर्ब ७४ करोड ९९ लाख रुपैयाँ रहेको छ । एफपिओ निष्काशनपछि बैंकका चुक्ता पूँजी चार अर्ब ५७ करोड १५ लाख रुपैयाँ पुग्नेछ ।