६ चैत, काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले हेटौंडा– ४, मकवानपुरमा केन्द्रिय कार्यालय रहेको अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने भएको छ । अल्पाइन डेभलपमेन्ट बैंकले आफ्नो पुँजीमा हकप्रद जारी गरी करिब ४४ करोड पुँजी पु-याएर समाहित हुनेछ ।
अल्पाइनको हाल १५ वटा शाखा सञ्चालनमा छन् भने पुस मसान्तसम्ममा ५ करोड ५ लाख सञ्चालन मुनाफा गर्न सफल भएको छ । सेञ्चुरी बैंकले यसअघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने सहमति गरिसकेकोे छ ।
सेञ्चुरी बैंकले चार संस्था प्राप्तिबाट करिब २ अर्ब पुँजी प्राप्त गर्ने छ भने नपुग पुँजी हकप्रद सेयर जारी गरेर तथा चालू आवको मुनाफाबाट ८ अर्ब पु-याउने भएको छ । यसैगरी सबै संस्थाहरु समाहित भएपश्चात् बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुनेछन् ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको चालू आवको दोस्रो त्रैमासमा सञ्चालन मुनाफा ३२ करोड ७४ लाख तथा खुद मुनाफा २२ करोड ३९ लाख छ । बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमास भन्दा २०१.५० प्रतिशतले वृद्धि भएको छ ।
हाल सेञ्चुरी बैंककोे चुक्ता पुँजी ३ अर्ब ६८ करोड छ । त्यसैगरी, चालू आवको दोस्रो त्रैमासमा बैंकले ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी २९ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ ।