३० फागुन, काठमाडौं । सनराइज बैंक लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडबीच मर्जको संभावना टर्दै गएको छ । यसअघि दुबै बैंक बीच मर्जको लागि संझौता सम्पन्न भएको थियो । मर्ज संझौतामा उल्लेख गरेको रकममा सनराइज ‘ब्याक’ हटेपछि दुबै बैंक बिच मर्जको संभावना टर्दै गएको हो ।
सनराइज बैंकको १०० बराबर महालक्ष्मी विकास बैंकले ९० रुपैयाँ हुने गरी स्वाप रेसियो कायम सहित संझौता भएको थियो । पहिला संझौता भए अनुरुप महालक्ष्मी विकास बैंकले ९० रुपैयाँ सनराइज बैंकले अहिले नदिने भएको छ । सनराइज बैंक स्रोतका अनुसार सनराइज बैंकले ९० रुपैयाँको संझौतालाई झारेर ७०-७५ रुपैयाँ भन्दा बढी नदिने आन्तरिक निर्णय भइसकेको छ । यस सम्बन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यसँग सम्पर्क गर्न खोज्दा उहाँ सँग भने सम्पर्क हुन सकेन ।
‘महालक्ष्मीले संझौतामा उल्लेख भएको ९० रुपैयाँ नपाउने भएसँगै मर्जको संभावना कम हुदै गएको हो ।’ बैंक स्रोतले भन्यो– ‘सनराइजले ७०-७५ रुपैयाँलाई बढाएर केही माथि लैजाने र महालक्ष्मीले ९० मा केही घट्ने अवस्थामा मात्र मर्ज प्रक्रिया अघि बढ्छ ।’
केही समय अघि मात्रै सनराइज बैंकले एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेड लाई प्राप्त (एक्विजिसन) गरेको थियो । एनआईडीसी प्राप्ती पछि सनराइज बैंकको चुक्ता पूँजी करिब रु. ५ अर्ब ४५ करोड पुगेको छ ।
त्यसैगरी ३० प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्ता पूँजी करिब ७ अर्ब ९ करोड पुग्ने बैंकले जानकारी दिएको छ । त्यसैगरी आ.ब. २०७३÷०७४ को मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँको चुक्ता पूँजी तोकिएको समयावधि भित्रै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।
बैंकका ६८ वटा शाखा, ७४ वटा एटिएम, १३ वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउण्टरहरु रहेका छन् ।