२०८३ साउन १० आइतबार

आयोगले तोक्यो उम्मेदवारको खर्चसीमा, कसको कति?

ई आर्थिक    आइतबार, फाल्गुन २९ २०७३
2.3K
Shares
आयोगले तोक्यो उम्मेदवारको खर्चसीमा, कसको कति?

२९ फागुन, काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारहरुले अधिकतम ७ लाख ५० हजार खर्च गर्न पाउने भएका छन् भने सबैभन्दा कम जिल्ला समन्वय समितिका वडा सदस्यले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।

निर्वाचन आयोगको बैठकले वैशाख ३१ गते हुने निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोकेको हो । आयोगले वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनमा भाग लिने स्थानीय तहका प्रमुखदेखि सदस्यसम्मको खर्चको सीमा तोकेको छ ।

आयोगले तोकेको सीमाअनुसार महानगरपालिकाका वडा अध्यक्षले ३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । यस्तै उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखले ५ लाख ५० हजार र वडा अध्यक्षले २ लाख ५० हजार खर्च गर्न पाउनेछन् ।

नगरपालिकाका प्रमुख र उपप्रमुखको हकमा भने आयोगले ४ लाख ५० हजार खर्चको सीमा तोकेको छ । नगरपालिकाको वडा अध्यक्षले अधिकतम २ लाख खर्च गर्न पाउनेछन् ।

यस्तै, गाउँपालिका प्रमुख र उपप्रमुखले चुनावमा ३ लाख ५० हजार र वडाअध्यक्षले १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् । त्यसैगरी, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले २ लाख ५० हजार र सदस्यले सबैभन्दा कम १ लाख ५० हजार खर्च गर्न पाउने गरी खर्चको सीमा तोकिएको छ । आयोगको अनुसार उम्मेदवारहरूले मतदाता नामावली खरिद, सवारी साधन र घोडा, सवारी इन्धन र दाना, प्रचारप्रसार सामग्री, ढुवानी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा उम्मेदवारले खर्च गर्न पाउनेछन् ।

अघिल्लो स्थानीय निकायको निर्वाचनमा महानगरपालिका प्रमुख तथा उपप्रमुखले अधिकतम ४ लाख ९४ हजार खर्च गर्न पाउने व्यवस्था थियो ।

यस्तै उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखले ३ लाख ५५ हजार ५ सय र नगरपालिकका प्रमुख तथा उपप्रमुखले २ लाख ६० हजार खर्च गर्न पाउने गरी आयोगले उम्मेदवारहरूको खर्चको सीमा तोकेको थियो ।

आयोगको अनुसार तोकेको उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमाभन्दा बढी खर्च गर्नेलाई कारबाही हुनेछ । शुक्रबारदेखि कार्यान्वयनमा आएका ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा आएका छन् ।

स्थानीय निकाय विघटन गरेर बनाइएका ७ सय ४४ स्थानीय तहमा ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाँउपालिका रहनेछन् । यस्तै, वडाहरूको संख्या ६ हजार ६ सय ८० हुने जनाइएको छ ।

आयोगले स्थानीय तहको निर्वाचनमा सबै पदमा ३ लाखभन्दा बढी उम्मेदवार हुने अनुमान गरेको छ भने स्थानीय तहको निर्वाचनका लागि १ करोड ४० लाख मतदाता रहेको बताईएको छ ।

निर्वाचनको तयारीलाई तीव्र बनाएको आयोगले मदतानस्थल १० हजार १३, मतदान केन्द्र २१ हजार हुने अनुमान गरेको छ । यस्तै, मतदानका लागि ८४ हजार ब्यालेट बक्स आवश्यक पर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij