१५ फागुन, काठमाडौं । सरकारी कार्यालयबाट दिने भुक्तानी सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ ।
पहिलो चरणमा आजदेखि सिंहदरबारभित्र रहेका ६६ केन्द्रीय सचिवालय र मन्त्रालयहरुबाट दिनुपर्ने संस्थागत भुक्तानी सेवा अनलाइनमार्फत दिने व्यवस्था मिलाइएको छ । जसमा यि कार्यालयहरुले गर्ने २५ हजारभन्दा माथि रकमको भुक्तानी अनलाइनमार्फत गरिनेछ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुनेगरी व्यवस्था मिलाउन लागिएको हो।
हाल रकम भुक्तानीका लागि चेक साट्न पाँच दिनदेखि एक महिनासम्म लाग्दैआएको छ । अहिले कोष तथा लेखा नियन्त्रक कार्यालयले चेक जारी गर्ने गरेको छ। चेक प्राप्त गर्ने निकायले उक्त चेक बिल पेस गर्ने पक्षलाई बुझाउँछ। बिल पेस गर्ने पक्षले चेक बैंकमा पेस गरी भुक्तानी लिने प्रचलन छ ।
तर, अनलाइनमार्फत एक दिनमै भुक्तानी हुने, जनशक्तिको खपत हुने र चेक हराउने तथा च्यातिने समस्या नआउने महालेखाको दाबी छ । डिजिटल हस्ताक्षर प्रणालीको प्रयोग अनिवार्य नभएकाले अनलाइन भुक्तानी पूर्णरुपमा कार्यान्वयन आउन भने समय लाग्नेछ ।
अनलाइनमार्फत भुक्तानीका लागि महालेखाले नेपाल क्यिरिङ हाउस लिमिटेड (एनसिएचएल) मार्फत सम्बन्धित बैंकमा भुक्तानी पठाउँछ। एनसिएचएलले अहिले विभिन्न बैंकहरुबीच पनि अन्तरबैंक विद्युतीय भुक्तानी सेवा दिँदै आएको छ। त्यसका लागि एनसिएचएलमा आवद्धता हुनुपर्नेछ।