२०८३ साउन ९ शनिबार

शिवको अतिप्यारो दिन : महाशिवरात्रि आज देशभर मनाइँदै

ई आर्थिक    शुक्रबार, फाल्गुन १३ २०७३
7.7K
Shares
शिवको अतिप्यारो दिन : महाशिवरात्रि आज देशभर मनाइँदै

१३ फागुन, काठमाडौं । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज नेपालभर मनाइँदैछ । हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि जत्तिकै महत्वपूर्ण भएको पुराणहरुमा वर्णित छ । यो हिन्दुहरूको प्रमुख चाड हो ।

shiv2

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको पि्रय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ” ऊँ नमः शिवाय” मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

shivaratri2

ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशानमूर्तिलाई दूधले स्नान गराइन्छ । अघोरमूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेवमूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।

gallary2

आजका दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । आजको शिवधुनीपछि जाडो जान्छ, पशुपति दर्शन गर्न आएका भारतीय भक्तजनले जाडो लिएर जान्छन् भन्ने विश्वाससमेत छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ भने कैलाशकूट र किरातेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । शङ्करको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशका विभिन्न भागलगायत भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।

s11

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष १३ लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij