२७ माघ, काठमाडौं । एभरेष्ट बैंकले गत वर्षको पुसको तुलनामा यस् वर्ष २९ प्रतिशतले नाफा बढाएको छ । गत वर्ष ७५ करोड कमाएको बैंकले यस वर्ष पुससम्ममा ९७ करोड रुपैयाँ आम्दानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी २२ प्रतिशतले बढेर १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । बैंकको फि कमिशन, विदेशी मुद्रा बिनिमय लगायतबाट भएको अन्य आम्दानी पनि करिब ४२ प्रतिशतले बढेर ४७ करोड रुपैयाँ पुगेको छ । बैंकले यसअघि जोखिमवापत प्रावधानमा राखेको ३ करोड ५३ लाख मात्र फिर्ता ल्याएको छ ।
बैंकको निक्षेप १९ प्रतिशत र कर्जा लगानी ३२ प्रतिशतले वृद्धि भएको छ । बैंकको रियल इस्टेट र व्यक्तिगत आवासमा कुल कर्जाको २० प्रतिशत लगानी भएको छ । यी दुई साथै राष्ट्र बैंकले भनेको अनुत्पादक क्षेत्र ओभरड्राफ्ट लोन, सेयर कर्जामा कुल कर्जाको करिब ६४ प्रतिशत लगानी भएको छ । बैंकमा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित कोष रहेको छ ।
बैंकको चुक्ता पुँजी ६८ प्रतिशतले बढेकोले प्रतिसेयर आम्दानीमा केही दबाब परेको छ । बैंकको प्रतिशसेयर आम्दानी ५७ बाट घटेर ४३ मा सिमित भएको छ । तरपनि यो सुचक यो वर्गका कम्पनीहरुमा उच्च नै हो । बैंकको पुँजी कोष लागत अझै न्युन (२.७९ प्रतिशत) छ । बैंकसँग कर्जा लागनीको लागि अझै ३.४ प्रतिशत (सीसीडि रेसीयो ७६.६ प्रतिशत) बराबर पुँजी छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात १३.२५ प्रतिशत छ । खराब कर्जा भने ०.७ प्रतिशत मात्र छ ।