५ माघ, काठमाडौं। अर्थमन्त्रालयले केही ढिलो गरी जारी गरेको भनेको तत्कालीन कार्यान्वयन कार्ययोजना २०७३ को बजेटमा जत्तिकै नाराले प्रश्रय पाएको छ । सँगै उक्त नारा कार्यनयन होला भन्ने प्रश्न पनि उठेको छ।
‘सम्वृद्ध नेपालको आधार सम्वृद्ध गाँउ/नगर, सम्वृद्ध गाँउ/नगरको आधार सम्वृद्ध समाज’ भन्ने मुल नारा सहितको कार्ययोजनामा १२ शीर्षक र ६३ वटा उप-शीर्षक छन् ।
कार्ययोजना भरि मुल नारा बाहेक पनि ५ वटा अन्य नारा लिइएको छ । एकाध नारा बजेटकै दोहोरिएको छ भने केही नयाँ नारा पनि समावेश छन् ।
हुण्डि नियन्त्रणको अस्त्र : ‘मेरो श्रम मेरो विप्रेषण, मेरो देश निर्माण’
‘मेरो श्रम मेरो विप्रेषण, मेरो देश निर्माण’मा भन्ने नारा अन्तरगत अर्थमन्त्रालयले विप्रेषणबाट प्राप्त रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिने उल्लेख छ । यस अन्तर्गत बैंकिङ प्रणालीबाट विप्रेषण पठाउने बैदेशिक रोजगारमा गएकाहरुलाई सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने भएको छ । हुण्डि नियन्त्रणको अस्त्रको रुपमा सरकारले यसलाई प्रयोग गर्ने भएको हो सरकारले कोरियाबाट अधिक हुण्डीमा कारोबार भएकोमा ध्यानाकर्षण भएको बताउँदै त्यहाँकै सरकारसँग छलफल चलिरहेको तर केही काम बाँकी रहेको उल्लेख गरेको छ ।
आर्थिक बिकासको मुख्य खम्बा : ‘एक सहकारी मुख्य चिनारी’
‘एक सहकारी मुख्य चिनारी’ नारा दिइ सहकारीलाई दिगो आर्थिक बिकासको मुख्य खम्बा मानेको सरकारले यस क्षेत्रलाई प्रोत्साहन गर्न आर्थिक अनुदान र कर्जा प्रवाहमा बिशेष प्राथमिकता दिने उल्लेख गरेको छ ।
‘एक स्थानीय सरकार एक एकीकृत व्यवसाय’ नारा दिइएको कार्यक्रम सरकारी, निजी र सहकारीको सहयोगमा लागु गरिने उल्लेख छ ।
‘एक इलाका एक व्यवसाय’ र ‘एक परिवार एक रोजगार’को नारा अन्तर्गत यस कार्यक्रममा सरलीकृत गरी आयोजना, शैक्षिक प्रमाणपत्र वा सामुहिक जमानीमा शीघ्र ऋण उपलब्ध गराइनेछ । चालु वर्षमा यसको लागि बनाइने कोषबाट थप ५० हजार स्वरोजगार सृजना गर्ने लक्ष्य राखिएको छ ।
एक बैंक एक खाताको नारा बजेटमा नै उल्लेख थियो । अर्थमन्त्रालयले पनि यो कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष भित्रमा कम्तिमा ७० प्रतिशतको खाता खोलिने लक्ष्य पेश गरेको छ ।