२०८३ साउन १० आइतबार

नौगड जलविद्युत आयोजनामा दुई बैंकले १ अर्ब लगानी गर्ने

ई आर्थिक    बिहिबार, माघ १३ २०७३
6.1K
Shares
नौगड जलविद्युत आयोजनामा दुई बैंकले १ अर्ब लगानी गर्ने

१३ माघ, काठमाडौं । कुल एक अर्ब ४४ करोडको अनुमानित लागतमा निर्माण भइरहेको नौगड गाढ साना जलविद्युत् आयोजनामा दुई वटा बैंकले एक अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत सेयरधनीको लगानीमा अपि पावर कम्पनीले निर्माण गर्न लागेको आयोजनामा नेपाल एसबीआई बैंक र प्रभु बैंकले लगानी गर्ने भएका हुन् ।

वि.सं. २०६० साल अषाढ ५ गते स्थापना भई जलविद्युत आयोजनाको पहिचान, विकास, निर्माण र संचालन गर्ने उद्देश्य लिएर स्थापित अपि पावर कम्पनी लिमिटेडले दोश्रो आयोजनाको रुपमा दार्चुला जिल्लामा बहने नौगड गाढ नदीमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

नेपाल एस.बि.आई. बैंक लिमिटेडको अगुवाईमा प्रभु बैंक लिमिटेड समेतले रु.१०० करोड ऋण उपलब्ध गराउने सम्बन्धित बुधवार सम्झौता भएको छ।  नेपाल एस.बि.आई. बैंकले ५५ करोड र प्रभु बैंकले ४५ करोड गरि जम्मा १ अर्ब ऋण उपलब्ध गराउने छन् ।

कम्पनीका कार्यकारी संचालक संजीव न्यौपानेले आयोजना २०७४ साल चैत मसान्तभित्र सम्पन्न गरि राष्ट्रिय प्रशारण लाइनमा विद्युत आपूर्ति गरिने जानकारी दिनुभयो । यो आयोजनाबाट उत्पादित  विद्युत शक्ति ८ कि.मि. लामो ३३ केभी ट्रान्समिशन लाइनबाट नेपाल विद्युत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडी १३२ केभी ट्रान्समिशन लाईनमार्फत कैलाली जिल्लाको अत्तरीया सब स्टेशन हुँदै देशभर प्रशारण हुने जनाइएको छ।

कम्पनीले यस अघि १७ महिनाको छोटो अवधिमा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७२ साल भाद्र देखि राष्ट्रिय प्रशारण लाइनमा विद्युत प्रवाह गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको बलाचँ–अत्तरीया १३२ के.भि ट्रान्समिशन लाइनको निर्माण पुरा भएतापनि लाइन चार्ज हुन सकेको छैन । डबल सर्किट भएको टावरमा दोश्रो सर्किटमा तार ओछ्याउने काम हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij