१२ माघ, काठमाडौं । पछिल्ला दुईदिन लगातार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार २५ अंकले झरेको बजार बुधबार ३६ अंकले ओरालो लागेको छ । दुई दिनकै अवधिमा नेप्से ६१ अंकले ओरालो लागेको हो । जसअनुसार, नेप्से परिसूचक १३९६.५३ अंकमा कायम भएको छ ।
उत्पादनमूलकबाहेक सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह २६७.४१ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ३६.२७, ५८.५६, २९.२६, २४.९९ र २.३१ अंकले घटेका छन् । उत्पादनमूलक भने १२.६१ अंकले बढेको छ ।
यसरी परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । प्रभु बैंको प्रोमोटर सेयरको मात्रै १७ करोडमाथिको कारोबार भएपछि समग्रमा झन्डै ५९ करोड पुँजी परिचालन भएको हो । दिनभरिमा १३५ वटा कम्पनीको १७ लाख नौ सय नौ कित्ता सेयर चार हजर पाँच सय नौ पटक खरिदविक्री हुँदा कुल ५८ करोड ९३ लाख ७७ हजार आठ सय आठ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबारको बजारमा ९ वटा कम्पनीको मात्रै सेयर मूल्य सामान्य बढेको छ । सबैभन्दा बढी गरिमा विकास बैंकको सेयर मूल्य २ दशमलब ६६ प्रतिशतले बढेको छ । त्यस्तै, यूनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य २ प्रतिशतले बढेको छ भने अन्य बाँकीको एक भन्दा कम प्रतिशतले सेयर मूल्य बढेको छ ।
यसदिन सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनी र नेरुडे लघूवित्तका लगानीकर्ताले वढि १० प्रतिशतका दरले गुमाएका छन्। बरुण हाइड्रोपावर कम्पनी र सगरमाथा फाइनान्सका लगानीकर्ताले ८ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।