आगामी २६ जनवरीमा रिलिज हुन लागेको बलिउड फिल्म ‘रईस’ को प्रचारका लागि निस्केका शाहरुखलाई हेर्न जम्मा भएको भीडमा एकजनाको ज्यान गएको छ ।
अभिनेता खानलाई हेर्न वडोदरा स्टेसन पुगेका पूर्व काउन्सिलर फरिद खानको निसासिएर ज्यान गएको हो । यो घटनामा अन्य दुईजना पुलिसकर्मी बेहोस भएका छन् ।
शाहरुख आफ्नो आगामी चलचित्र ‘रईस’ को प्रचार गर्दै मुम्बईदेखि दिल्ली रेलबाट गइरहेका थिए । शाहरुखलाई हेर्न बडोदरा रेल स्टेसनमा जम्मा भएका करिब डेढ लाख मानिस भेला भएका थिए ।

मुम्बईबाट शाहरुख आफ्नो टिम र केही सञ्चारकर्मीसँग अगस्ट क्रान्ति एक्सप्रेसबाट दिल्ली गइरहेका थिए । सामाजिक सञ्जालमा शाहरुख रेलमा रहेको समाचार फैलिएपछि प्रत्येक स्टेसनमा शाहरुखका लाखौँ फ्यान उनको एक झलकका लागि जम्मा भएका थिए ।
प्रत्येक स्टेसनमा रेलको ढोकाबाट शाहरुख आफ्ना फ्यानलाई नमस्कार गरिरहेका थिए । त्यही क्रममा अबेर राति वडोदरा स्टेसनमा रेल पुग्नुअघि नै त्यहाँ डेढ लाख भन्दा धेरै मानिस जम्मा भएका थिए ।
वडोदरा रेल स्टेसनमा शाहरुखलाई हेर्न पुगेको भीडमा पूर्व काउन्सिलर फरिद खान पनि थिए । त्यहाँबाट रेल छुटेपछि भीडमा ठेलाठेल हुँदा उनको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शाहरुख खानले भारतीय टेलिभिजन आजतकसँग कुरा गर्दै यो घटनालाई दुःखद भन्दै शोक व्यक्त गरेका छन् । उनले खानको मृत्युबाट आफूलाई अफशोच पनि भएको बताएका छन् ।
शाहरुखले आफू मुम्बईबाट खुसी साथ हिँडेपछि रेलमा मजा लिइरहेको बताइरहेका बेला यो घटनाले अत्यन्तै दुखित बनाएको बताएका छन् । वडोदरा स्टेसनमा भीड नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो । भीडका कयौँलाई चोटसमेत लागेको छ । दुईजना प्रहरीसहित चारजना बेहोस भएका छन् ।