
काठमाडौं
घाटामा रहेको विद्युत प्राधिकरण एकाध वर्षमा नाफामा जाने गरी काम सुरु भएको नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । उहाँले प्राधिकरण ऐनानुसार साधारण सेयर जारी गरिने र जनतालाई समेत लगानीका लागि आग्रह गरिने पनि बताउनुभयो । प्रबन्ध निर्देशक घिसिङले नेविप्रा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठनको एकता सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।
प्राधिकरणले नेपाल टेलिकमले जस्तै साधारण सेयर जारी गर्न सक्ने व्यवस्था भएकाले त्यसको पनि आवश्यक तयारी गरिने भएकाले नाफामा जाने गरी काम गर्न सबै कर्मचारीलाई आग्रह गर्नुभयो । तीन वर्ष पहिले रु २९ अर्ब घाटा सरकारले व्यहोरेको प्राधिकरणको घाटा हाल रु ३५ अर्ब पुगेको छ ।
विद्युत्भार कटौतिमुक्त गरिए पछि प्राधिकरणमा चुनौति थपियो
काठमाडौं उपत्यकामा विद्युत्भार कटौतीमुक्त गरिएपछि नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा चुनौती थपिएको प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले जानकारी दिनुभयो ।
विद्युत्भार कटौती अन्त्य भएको सहन गर्न नसक्ने केही तत्वले प्रणाली बिगार्न लागिपरेको सूचना आफूलाई प्राप्त भएको उहाँको भनाई थियो ।
काठमाडौँ उपत्यकामा हटाइएको विद्युत्भार कटौतीलाई मुलुकभर नै विस्तार गर्ने योजनामा प्राधिकरण लागिपरेको जानकारी दिँदै घिसिङले यसमा नागरिक तहबाट पनि सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले विद्युत्भार कटौतीमुक्त अभियानलाई प्रभावकारी बनाउन र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।