२०८३ साउन २० बुधबार

उखुको लाँक्रा बोकेर किसान सडकमा निस्किएर गरे नाराबाजी

ई आर्थिक    शनिबार, मंसिर ३० २०८०
6.6K
Shares
उखुको लाँक्रा बोकेर किसान सडकमा निस्किएर गरे नाराबाजी

सर्लाही । सर्लाहीका उखु किसानले शनिबार दिउँसो उखुको लाँक्रासहित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा प्रदर्शन गरेका छन् ।

उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी सरकारी अनुदान रकम यथाशीघ्र भुक्तानी गर्न माग गर्दै जिल्लाभरका किसान भेला भएर राजमार्गमा उखुको लाँक्रा बोकेर नाराबाजी गरेका हुन्। प्रदर्शनमा सहभागीले ‘उखु किसानसँग सम्मानजनक वार्ता गर, उखुको मूल्य ७५० रुपियाँ कायम गर, उखुको बक्यौता रकम तुरुन्त भुक्तानी गर, किसानमारा होसियार’ जस्ता नारा लगाएका थिए।

मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले उखुको उत्पादन लागत र चिनीको मूल्यका आधारमा छलफल गरेर उखुको मूल्य तोक्न आग्रह गर्दा किसानलाई राख्दै नराखी उद्योगीसँग साँठगाँठ गरेर उखुको मूल्य तोक्ने प्रयास भइरहेको बताउनुभयो। किसानले सरकारबाट गएको वर्षकै ५३ करोड रुपियाँ अनुदान रकम पाउन बाँकी रहेको उप्रेतीले जानकारी दिनुभयो।

“गत वर्षको बाँकी ५३ करोड पाउने ग्यारेन्टी छैन, यो वर्षका लागि मूल्य तोक्न किसान प्रतिनिधिको कुरा नसुनी उद्योगपतिको मात्रै कुरा सुन्ने काम भइरहेको छ” उप्रेतीले भन्नुभयो, “त्यसको विरुद्ध हामी सडकमा निस्किएका हौँ। ”

उहाँले विगत दुई वर्षदेखि कृषि तथा पशुपंन्क्षी विकास मन्त्रालयले मूल्य तोके पनि अर्थ मन्त्रालयबाट रकम निकासा नहुँदा किसानले निर्णय अनुसार भुक्तानी नपाएको भन्दै किसानसँग उद्योगका प्रतिनिधि, कृषि, उद्योग र अर्थ मन्त्रालयका प्रतिनिधि बसेर सम्मानजनक ढङ्गले वार्ता गर्नुपर्ने बताउनुभयो।

उखु किसानले माग पूरा नभए आन्दोलनलाई सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। धमाधम काटेर चिनी मिलमा लगेर उखु दिनुपर्ने किसान यो वर्ष अहिलेसम्म मूल्य निर्धारण नहुँदा अन्यौलता परेका छन्।

हरिवन नगरपालिका–३, डाबरीका किसान भरत महतो कोइरीले गत वर्ष उद्योगले दिनुपर्ने ५४० रुपियाँ तत्कालै पाए पनि सरकारले दिनुपर्ने ७० रुपियाँ अनुदान अझै नपाएको गुनासो गर्नुभयो। “उद्योगले दिनुपर्ने ५४० रुपियाँ त्यतिबेलै पाइयो तर सरकारले दिनुपर्ने ७० रुपियाँमध्ये अहिलेसम्म २१ रुपियाँ मात्रै पाएका छौँ,” उखुको लाँक्रा बोकेर हरिवन पुग्नुभएका महतोले भन्नुभयो, “बाँकी ४९ रुपियाँ अनुदान रकम कहिले पाउने हो अत्तोपत्तो छैन। ”

महतोले सरकारले यो वर्षका लागि उखुको मूल्य नतोक्दा खेतमा सुकेर जान थालिसकेको उखु काट्न नपाएको दुःखेसो पोख्नुभयो। मूल्य तय नहुन्जेल उद्योग सञ्चालन नगरिदिन किसानका प्रतिनिधिले आग्रह गरेपछि देशकै सबैभन्दा ठुला इन्दुशङ्कर चिनी उद्योग हरिवन र एभरेष्ट सुगर एण्ड केमिकल इडष्ट्रिज रामनगरले उखु क्रसिङ गरेका छैनन्।

देशका अन्य केही चिनी उद्योगले भने सरकारले पछि जे जति मूल्य तोक्छ, सोही अनुसार भुक्तानी सहमतिमा उखु क्रसिङ गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij