२०८३ साउन २० बुधबार

२७औँ राष्ट्रिय चिया दिवस मनाइदै, चियामा लगानी गर्न निजी क्षेत्रलाई आह्वान

ई आर्थिक    शनिबार, बैशाख १६ २०८०
8.1K
Shares
२७औँ राष्ट्रिय चिया दिवस मनाइदै, चियामा लगानी गर्न निजी क्षेत्रलाई आह्वान

ई–आर्थिक, काठमाडौं । ‘गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ भन्ने मूल नाराका साथ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २७औँ राष्ट्रिय चिया दिवस मनाइरहेको छ । कृषिमन्त्री डा. वेदुराम भुसालले चिया दिवसको अवसरमा शुक्रबार एक विज्ञप्ति जारी गरी चियामा निजी क्षेत्रलाई लगानी गर्न आह्वान गर्नुभएको छ । उहाँले एउटा प्रमुख निर्यातयोग्य नगदेबालीका रूपमा स्थापित गर्न निजी क्षेत्रलाई समेत थप लगानी गर्न आह्वान गर्नुभएको छ ।

नेपाली चियाले राष्ट्रियस्तरमा मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा पनि आफ्नो स्वाद र गुणस्तरका हिसाबले पहिचान बनाउन सफल भएको उल्लेख गर्दै मन्त्री भुसालले विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्दै विभिन्न समयमा प्राप्त अवार्डले नै नेपाली चिया क्षेत्रले आफूलाई अब्बल दर्जाको प्रमाणित गरेको बताउनुभएको छ ।

चीनमा हालै सम्पन्न कालो चिया गुणस्तर मापन प्रतिस्पर्धामा नेपालले १६ वटा चियाका नमुनामध्ये छवटा गोल्ड र चारवटा सिल्भर अवार्ड जित्न सफल भएको छ । विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरू चीन, भारत, केन्या, श्रीलङ्कालगायतका राष्ट्रसँग प्रतिस्पर्धा गर्दै यो प्रकारको अवार्ड प्राप्त गर्नुभनेको भविष्यमा चियाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन तथा निर्यातमा टेवा मिल्नु र विश्व बजारमा नेपाली चियाको गुणस्तर सर्वोकृष्ट रहेको प्रमाणित भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

नेपालले चिया आफैँ उत्पादन गरेर भारतलगायत अन्य देशमा समेत नेपाली चिया निर्यात गरी विदेशी मुद्रा आर्जन हुनु गौरवको विषय रहेको मन्त्री भुसालले उल्लेख गर्नुभएको छ । चिया उद्योगका अगाडि गुणस्तरीय उत्पादन, अन्तर्राष्ट्रिय बजारलगायत थुप्रै चुनौती रहेको उल्लेख गर्दै उहाँले सरकारले चियाको उच्च निर्यात सम्भाव्यतालाई दृष्टिगत गरी यस क्षेत्रको प्रवद्र्धन र दिगो विकासका लागि आवश्यक नीति, रणनीति तथा कार्ययोजना बनाई कार्यान्वयनमा ल्याइरहेको बताउनुभयो ।

चिया खेतीको विस्तारका लागि किसान, उद्योगी र व्यवसायीलाई प्रोत्साहन गराउने उद्देश्यले हरेक वर्ष वैशाख १५ गतेका दिन चिया दिवस मनाइँदै आएको छ । झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम गरी पाँच जिल्ला चियामा आत्मनिर्भर बनिसकेका छन् । यी जिल्लाबाट फैलिएको चिया खेती पछिल्लो समय सिन्धुपाल्चोक, दोलखा, कास्की, नुवाकोट, रामेछाप, ललितपुर, सोलु, सङ्खुवासभा, ताप्लेजुङ जिल्लामा समेत फैलिएको छ । नेपालका ७७ जिल्लामध्ये १२ भन्दा बढी जिल्लामा हाल चिया खेती भइरहेका छन् ।

वि. सं. १९२० देखि नेपालमा चिया खेती सुरु भएको पाइन्छ । चिया र कफीका क्षेत्रमा नियमन गर्ने निकायका रूपमा सरकारले हालसम्म मुख्य कार्यालयसहित १२ वटा कार्यालय खोलेको छ । झापास्थित बिर्तामोडमा केन्द्रीय कार्यालय र पोखरामा प्रादेशिक कार्यालय रहेका छन् । त्यसैगरी इलाममा तीन, पाँचथरमा एक, तेह्रथुममा एक, धनकुटाको हिलेमा एक, सोलुखुम्बुको कागेलमा एक, प्युठानको बरडाँडामा एक गरी हालसम्म १२ वटा कार्यालय रहेको चिया तथा कफी विकास बोर्डले जनाएको छ । चिया भिरालो पहाडी क्षेत्रमा उत्पादन हुने नगदे बाली हो । नेपालमा चियाको खेती १६० वर्ष पहिले इलामबाट सुरु भएको हो तर व्यावसायिक रूपमा भने सन् २०२० सालपछि मात्र विस्तार भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij