ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनैपनि हालतमा अर्थतन्त्र सुधार गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाबी गर्नुभएको छ । प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारको विषय आफ्ना लागि ‘लाइफ एन्ड डेथ’ भएको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतवार आयोजना गरेको सेजन अवार्ड २०७९ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘सेजनको कार्यक्रममा आउने टिप्पणी आलोचना विरोध जेसुकै भए पनि मैले यसलाई गम्भीर रुपमा लिने छु ।’
उहाँले आफू निकै चुनौतीको बीचमा प्रधानमन्त्री भएको उल्लेख गर्दै अब गम्भीर भएर अर्थतन्त्रको वारेमा अध्ययन गर्ने पक्षमा रहेको बताउनुभयो ।
आर्थिक विकासको अबको मार्गचित्र संविधानमा उल्लेख रहेको भन्दै उहाँले तीन तहको सरकारबाट अधिकार जनतामा पुर्याउने कोशिश भइरहेको बताउनुभयो । उहाँले अव सोच बदल्न जरुरी छ, संरचनागत परिवर्तन पनि आवश्यक छ भन्दै ओभर स्टाफिङको अन्त नगरिकन समृद्धि ल्याउन नसकिने पनि बताउनुभयो ।
उहाँले संरचनागत पुनर्संरचना जरुरी छ भन्दै हाम्रो प्राथमिकताको क्षेत्र के हो त ? हिजो खाद्यान्नमा आत्मनिर्भर थियौ । निर्यात पनि गर्थ्यौ । हामीसँग भएको सकारात्मक शक्ति पहिचान गर्न सकेनौ कि ? भन्ने अवस्था आएको बताउनुभयो ।
उहाँले तर पनि हाम्रो पहिलो प्राथमिकता कृषि नै हो भन्दै यसमा अभियान चलाएनौ भने अरु क्षेत्रमा सुधार हुन नसक्ने बताउनुभयो । साथै उहाँले मुलुकको विकासका लागि शिक्षा, स्वास्थ्य र कृषि नै प्राथमिकतामा पर्न आवश्यक रहेको बताउनुभयो ।
छ जना पत्रकारलाई सेजन अवार्ड

यस वर्षको डा. भोला चालिसे लिबरल जनर्नालिज्म अवार्ड कान्तिपुर दैनिकका अर्थ ब्युरो प्रमुख कृष्ण आचार्यले प्राप्त गर्नुभएको छ।

यस वर्षको सेजन ब्रोडकाष्ट मिडिया अवार्ड ग्यालेक्सी फोर के टेलिभिजनका विनय बन्जरा, सेजन प्रिन्ट मिडिया अवार्ड टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकी र सेजन डिजिटल मिडिया अवार्ड पहिचान मिडियाका ठाकुरप्रसाद दुलाल (माधव) ले प्राप्त गर्नुभएको छ।
त्यसैगरी यस वर्षको सेजन अवार्ड अन्नपूर्ण दैनिकका पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापाले पाउनुभएको छ। यस वर्षको सञ्जय न्यौपाने आर्थिक पत्रकारिता फेलोसिप कारोबार दैनिकका कौसिला कुँवरलाई दिइएको छ।