काठमाडौं । बैंक, वित्तीय संस्थाको निक्षेपमा मुद्दतीको अंश ६० प्रतिशत नाघेको छ । गत आर्थिक वर्ष (आव) देखि वित्तीय प्रणालीमा देखिएको तरलता दबाबका कारण बैंकहरूले सर्वसाधारणलाई बढी ब्याज दिएर निक्षेप आकर्षित गर्न मुद्दती योजनामा जोड दिएसँगै यसको अंश बढेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको मङ्सिरसम्ममा बैंक, वित्तीय संस्थाले ५२ खर्ब ४७ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । त्यसमध्ये ६० दशमलव ३ प्रतिशत मुद्दती निक्षेप छ । एक वर्षअघिसम्म बैंकहरूमा रहेको कुल निक्षेपमध्ये ५४ दशमलव ३ प्रतिशत मुद्दती थियो ।
निक्षेप बढाउनुपर्ने दबाबमा रहेका बैंकहरूले पछिल्लो समय उच्च ब्याजदरसहित मुद्दती निक्षेप योजना सार्वजनिक गरेका थिए । बैंकहरूले निक्षेप आकर्षित गर्न शुरू निक्षेपको १० गुणासम्म दिने गरी २१ वर्ष अवधिसम्मका योजना सञ्चालन गरेका छन् । यस्तै मुद्दती निक्षेपकर्तालाई ब्याजका अतिरिक्त बीमा, लकर, क्रेडिट कार्ड, सुलभ कर्जालगायत सुविधासमेत दिइरहेका छन् । यस्तै रेमिट्यान्समार्फत प्राप्त भएको रकमलाई मुद्दती निक्षेपमा राख्दा सर्वसाधारणलाई भन्दा १ प्रतिशत विन्दुले थप ब्याज दिइरहेका छन् ।
बैंक, वित्तीय संस्थाको प्राथमिकताकै कारण त्यस्ता संस्थामा साधारण बचत घटेर मुद्दती निक्षेपको अंश बढ्दै गएको हो । गत आवको अन्त्यसम्ममा बैंकहरूमा कुल निक्षेपको ५५ दशमलव ८ प्रतिशत मात्र मुद्दती थियो । २०७८ असारमा मुद्दती निक्षेपको अंश ४७ प्रतिशत मात्र थियो ।
राष्ट्र बैंकको ब्याजदरसम्बन्धी व्यवस्थाअनुसार बैंकहरूले साधारण बचतको न्यूनतम ब्याजभन्दा मुद्दतीमा ५ प्रतिशत विन्दुले थप गरी अधिकतम ब्याज दिन पाउँछन् । कल निक्षेपबाहेकका ब्याज प्रदान गरिने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खातामा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत विन्दुभन्दा बढी गर्न नपाइने व्यवस्था छ । यसैगरी हरेक महीना १० प्रतिशत मात्र ब्याजदर तलमाथि गर्न पाउने व्यवस्था छ ।
ब्याजदरमा राष्ट्र बैंकको नीति र बैंकहरूको छाता संगठनको भद्र सहमतिका कारण बैंकहरूले निक्षेप बढाउन सर्वसाधारणलाई मुद्दतीमा आकर्षित गरेका हुन् । त्यसैका कारण साधारण बचत र चल्ती निक्षेपको अंश घटेर मुद्दतीको बढेको हो ।
लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहोरा बढी ब्याज दिन अधिकांश निक्षेप खाता छोटो अवधिको मुद्दतीमा परिवर्तन हुँदा यसको अंश बढेको बताउँछन् । राष्ट्र बैंकको तथ्यांकअनुसार २०७७ असारमा बैंकहरूको कुल निक्षेपमा ३४ दशमलव २ प्रतिशत साधारण बचत रहेकोमा २०७९ मङ्सिरमा बचतको अंश २५ दशमलव ७ प्रतिशतमा खुम्चिएको छ ।
बैंकहरूको प्रतिस्पर्धाले ब्याजदर पनि उच्च भएको छ । २०७८ मङ्सिरमा ९१ दिने ट्रेजरी बिल्सको औसत ब्याजदर ५ दशमलव शून्य ४ प्रतिशत रहेकोमा २०७९ मङ्सिरमा १० दशमलव ६७ प्रतिशत पुगेको छ । यस्तै वाणिज्य बैंकबीचको अन्तरबैंक कारोबारको औसत ब्याजदर पनि २०७८ मङ्सिरमा ४ दशमलव ९६ प्रतिशत रहेकोमा २०७९ मङ्सिरमा ७ दशमलव ९६ प्रतिशत पुगेको छ ।
यसैगरी २०७९ मङ्सिरमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ८ दशमलव ४६ प्रतिशत र कर्जाको औसत ब्याजदर १२ दशमलव ७४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष मङ्सिरमा भने निक्षेपको औसत ब्याजदर ६ दशमलव २४ प्रतिशत र कर्जाको ९ दशमलव २९ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यस्तै वाणिज्य बैंकहरूको औसत आधारदर २०७८ मङ्सिरमा ८ दशमलव २५ प्रतिशत रहेकोमा २०७९ मङ्सिरमा १० दशमलव ६९ प्रतिशत कायम भएको छ । बैंकहरूको आधारदर वृद्धिसँगै कर्जा थप महँगो हुने भएको समाचार आर्थिक अभियानले लेखेको छ ।