२०८३ भाद्र ३० मंगलबार

कांग्रेस, एमाले, माओवादी, राप्रपामध्ये एक नम्बर पार्टी को ? यस्तो छ दाबी

ई आर्थिक    शुक्रबार, बैशाख २९ २०७४
4.1K
Shares
कांग्रेस, एमाले, माओवादी, राप्रपामध्ये एक नम्बर पार्टी को ? यस्तो छ दाबी

२९ वैशाख, काठमाडौं । आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि प्रचार अभियान सकिएकै दिन प्रमुख राजनीतिक दलहरूले निर्वाचनबाट आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् । मौन अवधि सुरु हुनुअघि (बिहीबार मध्यरात) सम्म घरदैलो, अभियानमा सक्रिय दलहरूले ‘जनताका घरघरमा पुगेपछिको निष्कर्ष’ भन्दै पहिलो शक्ति बन्ने उद्घोष गरेका हुन् ।

६५ प्रतिशत स्थान जित्छौं : कांग्रेस
नेपाली कांग्रेसले आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनमा २ सय ८३ स्थानीय तहमध्ये ६५ प्रतिशत स्थानमा आÏनो विजय सुनिश्चित भएको दाबी गरेको छ । कांग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता तथा समितिका संयोजक रमेश लेखकले आइतबार हुने स्थानीय तह निर्वाचनमा आÏनो पार्टीले ६५ प्रतिशत स्थानमा विजय प्राप्त गर्ने दाबी गरेका हुन् ।

‘पार्टीको पक्षमा अभूतपूर्व जनमत देखिएको छ, यसको पछाडिको कारण कांग्रेसले संविधान निर्माणमा गरेको मेहनत र कांग्रेसकै सरकारको पालामा संविधान जारी भएको कारण नै हो, हामीले ६५ प्रतिशत स्थानीय तहमा निर्वाचन जित्दै छौं,’ लेखकले भने । उनले चारवटै महानगरपालिकामा पार्टी विजयी हुने विभिन्न जनमत सर्वेक्षणले देखाएको पनि दाबी गरे । देशका विभिन्न भागमा गरिएको सूक्ष्म विश्लेषणका आधारमा पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले स्पष्ट बहुमत ल्याउने सुनिश्चित भएको उनको भनाइ छ ।

कांग्रेसले उम्मेदवारको मनोनयन दर्तालगत्तै केन्द्रदेखि स्थानीय स्तरसम्म नै प्रचारप्रसारलाई तीव्रता दिएको थियो । केन्द्रमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचन परिचालन समितिको संयोजक बनाएर कांग्रेसले निर्वाचनको गतिविधिलाई अघि बढाएको हो ।

कांग्रेसले पार्टी तथा उम्मेदवारको प्रचारप्रसारलाई गीत संगीतदेखि सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूका माध्यमबाट समेत निर्वाचनका क्रममा व्यापक प्रचारप्रसार गरेको छ । पार्टीको निर्वाचन प्रचारप्रसारमा दुई दर्जन बढी गीत रेकर्ड भएका छन् भने पार्टीको आधिकारिक फेसबुक पेजबाट समेत हरेक गतिविधिहरूलाई प्रत्यक्ष प्रसारण गर्दै आइएको छ ।

कांग्रेसले देशैभरि आफ्ना भ्रातृ संगठनदेखि सुभेच्छुक संस्थालाई समेत परिचालन गरेको छ । नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले निर्वाचनलाई लक्षित गरेर केन्द्रदेखि जिल्ला तहसम्म नै आÏनो संगठन परिचालित भएको बताए ।

यसबीचमा पार्टीका उम्मेदवारहरू स्थानीय स्तरदेखि केन्द्रसम्म नै आम मतदाताका घरमा पुगेका छन् । मौन अवधि सुरु हुनुअघिसम्म उम्मेदवारहरू मतदाताका घरमा मत माग्दै पुगेका छन् । उम्मेदवारहरूले आÏना तर्फबाट समेत स्थानीय समस्याहरूमा मतदातालाई फकाउँदै नयाँनयाँ एजेन्डाहरू अघि सारेका छन् ।

पहिलो शक्ति बन्छौं : एमाले
प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको निर्वाचनमा बहुमतसहित पहिलो शक्ति बन्ने दाबी गरेको छ । पहिलो चरणको निर्वाचनमा आश्चर्यजनक नतिजा ल्याउने दाबी एमालेको छ ।

एमाले स्थायी कमिटीका सदस्य शंकर पोखरेलले ५० देखि ६० प्रतिशतसम्मको स्थानमा विजयी हुने ठोकुवा गरेका छन् । एमालेप्रति बढ्दै गइरहेको जनलहरका कारण यो संख्या अझै बढ्ने विश्वास उनले व्यक्त गरेका छन् ।

काठमाडौं, ललितपुर, भरतपुर र लेखनाथ पोखरासहित चारवटै महानगरपालिको जित्ने दाबी पोखरेलले गरे । संविधान निर्माण गर्न प्रमुख भूमिका खेलेको, संविधानको कार्यान्वयन, राष्ट्रियताको रक्षा, स्वाभिमान र आर्थिक समृद्धिको विषयमा एमालेले प्रस्ट योजना अघि सारेकाले जनताको विश्वास एमालेप्रति रहेको एमालेको दाबी छ ।एमाले केन्द्रीय सदस्य एवं प्रचार विभागका प्रमुख सूर्य थापाले एमालेका तर्फबाट चुनावी तयारी पूरा भएको बताए ।

जनताका बीचमा जाने, आफ्ना योजना बताउने, मत माग्नेलगायत काम पूरा भएको बताए ।

एमालेले पहिलो चरणमा निर्वाचन हुने ठाउँमा प्रचार प्रसार, घरदैलो, सभा, -याली सम्पन्न गरेको छ । सामाजिक सञ्जाल, सञ्चार माध्यमलगायतको व्यापक रूपमा एमालेले प्रयोग गरेको छ । एमाले नेतृत्वको सरकारले गरेका सकारात्मक कामका विषयमा प्रचार गर्दै मतदातासँग मत माग्ने काम गरेको छ ।

निर्वाचनलाई लक्षित गरेर पार्टीका विभिन्न प्रचार युनिटले एक दर्जनभन्दा बढी चुनावी गीत, नारालगायत विद्युतीय प्रचार शैलीमार्फत आक्रामक प्रचार अभियान चलाएका छन् ।

केन्द्रमा बेग्लै प्रचार डेक्समार्फत हरेक मतदाताकाअपेक्षा र उम्मेदवारका एजेन्डालाई जनस्तरसम्म पु-याएकाले एमाले जनताको मनमनमा बसिसकेको नेताको दाबी छ ।एमालेले निर्माण गरेको विद्युतीय प्रचार सामग्रीलाई तोडमोड गरी भ्रामक शैलीमा सामाजिक सञ्जालमा राख्ने व्यक्तिको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न माग पनि गरेको छ । पार्टीको आक्रामक प्रचार नीतिबाट डराएकाले दुष्प्रचार गरेको उसको भनाइ छ ।

उसले प्रधानमन्त्री पुष्पकमल दाहालसहित मन्त्रीहरूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै जनताले आचारसंहिता पालना गर्ने पार्टीलाई भोट दिने

बताएको छ । नेता पोखरेलका अनुसार राज्यकै तर्फबाट सुनियोजित तरिकाले समाजिक सञ्जालको चरम दुरुपयोग भइरहेको जनताले बुझेकाले एमाले त्यस्ता प्रचारबाट नडराएको प्रस्टसमेत पारे ।

कांग्रेस–एमालेलाई जित्छौं : माओवादी केन्द्र
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आइतबार हुने स्थानीय तहको निर्वाचनमा मतदाताले पार्टीको एजेन्डा र विचारलाई रोजे कांग्रेस र एमालेभन्दा बढी स्थानमा जित हासिल गर्ने दाबी गरेको छ ।

पार्टीको नेतृत्वमा १६ घण्टाको लोडसेडिङ शून्यमा झार्न सफल भएको, १० प्रतिशतमाथिको मूल्य वृद्धि साढे ३ प्रतिशतमा झारेको, अघिल्लो वर्ष शून्य दशमलवमा रहेको आर्थिक वृद्धिदर नेपालको इतिहासमा नै पहिलोपटक ७ प्रतिशत पु¥याउन सफल भएको भन्दै माओवादीले जनताले विश्वास गर्ने आधार पेस गरेको हो ।

माओवादी हेडक्वार्टर सदस्यसमेत रहेका चुनाव आयोजक समिति सदस्य देव गुरुङले माओवादीले बन्द रहेका सरकारी उद्योग, कलकारखाना तथा संस्थानहरू खुलाएको, राष्ट्रिय गौरवका आयोजना अघि बढाएको तथा स्थानीय तहको एजेन्डासमेत आÏनै पार्टीको भएकाले जनताले यी कुरा बुझेर मतदाताले भोट हाले कांग्रेस र एमालेभन्दा बढी संख्यामा जित्न सकिने बताए ।

उसले मतदाता विचार र एजेन्डालाई भुलेर लोभ, लालच तथा पैसा र प्रलोभनमा परेको खण्डमा भने कुनै ठाउँमा पनि जित्न नसकिनेअनुमानसमेत छ ।माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पार्टीकै एजेन्डाअनुसार संविधान बनाएको र अहिले सिंहदरबारको अधिकार गाउँगाउँमामाओवादीले नै पु-याएको भन्दै निर्वाचनमा पार्टीले धेरै ठाउँमा जित हासिल गर्ने बताइन् । काठमाडौं महानगरपालिकामा माओवादीबाट प्रमुख बनेका सर्वाेत्तम डंगोल घरदैलोमा जाँदा मतदाताबाट लोडसेडिङ हटाएकोमा धन्यवादसँगै भोट दिने विश्वास दिलाएको बताउँछन् ।

स्थानीय तहको समृद्धि, स्थानीय विकास र समृद्धिको घोषणापत्रसहति माओवादी केन्द्रले घरदैलोलाई तीव्रता दिएको थियो । प्रचार अवधिभर उसले घरदैलो, सामाजिक सञ्जाल, नेतासँग अन्तक्र्रिया, उम्मेदवार परिचय, सभा, समारोहमार्फत प्रचार गरेको छ । आयोगले तोकेको सीमाभित्र रहेर एजेन्डालाई मतदातासम्म पु-याउन विद्युतीय माध्यमको प्रयोगलाई तीव्र बनाएको माओवादीले केन्द्रीय निर्वाचन परिचालन समितिमार्फत निर्वाचन हुने सबै क्षेत्रमा प्रचार र एजेन्डा पु¥याएको बताएको छ ।

माओवादी केन्द्रले आÏनो विचार र एजेन्डा मतदातासम्म पु¥याउन माइकिङ, पर्चा, पम्प्लेट, सामाजिक सञ्जाल, घरदैलो अभियान, भेटघाट तथा सभा समारोह आयोजना गरेको थियो । प्रचारमा पार्टीका केन्द्रीय नेतादेखि तल्लो तहसम्मका कार्यकर्ता, विभिन्न भ्रातृ संगठन, शुभेच्छुकसमेत खटिएका छन् ।

अपार जनसमर्थन छ : राप्रपा
व्यवस्थापिका–संसद्मा चौथो ठूलो शक्तिका रूपमा रहेको राप्रपाले पहिलो चरणको स्थानीय तह निर्वाचनमा आÏनो पक्षमा अपार जनसमर्थन रहेको दाबी गरेको छ ।

राप्रपाले आफ्नो प्रभाव भएका, कम प्रभाव भएका र तालमेल गरेका स्थानहरूमा फरकफरक शैलीबाट आफ्नो चुनावी अभियान चलाएको बताउँदै आÏनो पक्षमा अपार जनसमर्थन रहेको बताएको हो । राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले जनताको अपार समर्थन प्राप्त भएकाले समर्थनलाई मतमा रुपान्तरण भए उत्साहजनक जित हात पर्ने बताए ।

‘हामी जहाँ पुगेका छौं, त्यहाँ जनताको अपार समर्थन पाएका छौं, त्यो समर्थन मतमा परिणत भए उत्साहजनक जित हात पर्छ, त्यसमा हामी ढुक्क छौं,’ श्रेष्ठले राजधानीसँग भने । केन्द्रीय घोषणापत्रमा राप्रपाले राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्रलाई अघि सारेको छ भने स्थानीय निर्वाचनले त्यसका लागि थप बाटो खुल्ने उसको अपेक्षा र दाबी छ ।

केन्द्रीय स्तरमा अध्यक्ष कमल थापाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको राप्रपाले प्रवक्ता रोशन कार्कीलाई प्रचारप्रसारको मूल जिम्मेवारी दिएको थियो । राप्रपाले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टी अध्यक्ष थापाको शब्दमा दुई चुनावी गीत रेकर्ड गरायो भने अन्य गीत गरी आधा दर्जनको संख्यामा गीतहरू रेकर्ड भएका छन् ।

पार्टीका तर्फबाट स्थानीय तहमा उम्मेदवारी दिएका उम्मेदवारहरू मौन अवधि सुरु हुनुअघिसम्म आफ्नो प्रचारप्रसारमा मतदाताको घरदैलोमा रहेका थिए । उनीहरूले आम मतदातालाई आफूलाई मतदान गर्न आग्रह गर्दै आफ्नो जितबाट नै समग्र स्थानीय जनताको प्रतिनिधित्व हुने भन्दै मतदातासम्म पुगेका हुन् । राप्रपाले प्रचारप्रसारका क्रममा चल्तीका सबै साधनहरूको प्रयोग गरेको छ । सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारकामाध्यमहरूमा विज्ञापन गर्ने र आचारसंहिताले दिएसम्मका प्रचारको शैली पार्टीले अपनाएको नेता श्रेष्ठले बताए ।अाजकाे राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij