२०८३ भाद्र ३१ बुधबार

घरजग्गा बजार चलायमान, एक वर्षमा ७ खर्ब २० अर्बको कारोबार

ई आर्थिक    मंगलबार, भाद्र ३० २०८३
285
Shares
घरजग्गा बजार चलायमान, एक वर्षमा ७ खर्ब २० अर्बको कारोबार

काठमाडौं ।  लामो समयदेखि सुस्त रहेको घरजग्गा बजारमा पछिल्लो वर्ष उल्लेख्य सुधार देखिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा देशभर ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँबराबरको घरजग्गा कारोबार भएको छ। कारोबार बढेसँगै यस क्षेत्रबाट सरकारलाई प्राप्त हुने राजस्व र पुँजीगत लाभकरमा समेत उल्लेख्य वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनअनुसार गत आर्थिक वर्ष घरजग्गा कारोबार संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो।

घरजग्गा बजारको सुधार आर्थिक वर्षको अन्तिम त्रैमासमा अझ तीव्र देखिएको छ। २०८२/८३ को चौथो त्रैमासमा मात्रै कारोबार संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

चौथो त्रैमासमा लिखत पारितअन्तर्गतको कारोबार संख्या १२.२८ प्रतिशतले र लिखत पारितअन्तर्गतको राजीनामा कारोबार संख्या २२.८८ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकममा पनि ठूलो उछाल आएको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा मात्रै २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कारोबार रकम १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँमा सीमित थियो।

गत आर्थिक वर्षमा कारोबार भएको घरजग्गाको कुल क्षेत्रफल पनि १५.४१ प्रतिशतले बढेको छ। कारोबार गतिविधि बढ्दा सरकारको आम्दानीमा समेत त्यसको प्रभाव परेको छ। घरजग्गा कारोबारबाट संकलित राजस्व ४८.२६ प्रतिशतले बढेको छ भने पुँजीगत लाभकर ६३.२२ प्रतिशतले वृद्धि भएको छ।

घरजग्गा क्षेत्रमा बैंक कर्जाको प्रवाहसमेत बढेको छ। आवासीय घरजग्गा कर्जासहित यस क्षेत्रमा प्रवाह भएको बैंक कर्जा अघिल्लो वर्षको तुलनामा ६.९३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

प्रदेशगत रूपमा बागमतीमा घरजग्गा कारोबारको वृद्धि सबैभन्दा उच्च देखिएको छ। चौथो त्रैमासमा बागमती प्रदेशमा राजीनामा कारोबार संख्या ६९.३८ प्रतिशतले बढेको छ। मधेश प्रदेशमा भने यस्तो कारोबार संख्या ३.४४ प्रतिशतले घटेको छ।

कारोबार भएको कुल क्षेत्रफलमा पनि बागमती प्रदेश अगाडि छ। त्यहाँ कारोबार भएको क्षेत्रफल ५०.२४ प्रतिशतले बढेको छ भने मधेशमा ६.१९ प्रतिशतले घटेको छ। कारोबारको कुल मूल्य भने सातवटै प्रदेशमा बढेको छ। बागमतीमा कुल कारोबार मूल्य १७५.३३ प्रतिशतले बढ्दा मधेशमा ३९.९८ प्रतिशतको वृद्धि देखिएको छ।

जग्गाको आकारअनुसार हेर्दा सातवटै प्रदेशमा २.५ देखि १० आनासम्मका प्लटको कारोबार सबैभन्दा बढी भएको छ।

महानगरपालिकाहरूमा पनि घरजग्गा कारोबारले गति लिएको छ। चौथो त्रैमासमा काठमाडौं महानगरपालिकामा कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ। ललितपुरमा १३६.९२ प्रतिशत, पोखरामा १०८.३९ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगञ्जमा २९.१९ प्रतिशतले कारोबार वृद्धि भएको छ।

काठमाडौं महानगरपालिकामा कारोबार भएको कुल क्षेत्रफल २०८.२२ प्रतिशतले र कुल कारोबार मूल्य २१७.४० प्रतिशतले बढेको छ।

उपमहानगरपालिकातर्फ कलैया बाहेक बाँकी १० वटै उपमहानगरपालिकामा कारोबार संख्या बढेको छ। धनगढीमा कारोबार संख्या ७३.१६ प्रतिशतले बढेको छ भने कलैयामा कारोबार संख्या स्थिर रहेको छ।

कारोबार भएको क्षेत्रफल र कुल मूल्य वृद्धिमा हेटौँडा उपमहानगरपालिका अगाडि छ। हेटौँडामा कारोबार भएको क्षेत्रफल १०४.१६ प्रतिशतले र कुल कारोबार मूल्य १८६.८० प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ।

समग्रमा कारोबार संख्या, कारोबार क्षेत्रफल, कारोबार रकम, सरकारी राजस्व र बैंक कर्जासमेत बढेकाले पछिल्लो वर्ष घरजग्गा बजार सुस्तताबाट क्रमशः बाहिरिँदै गएको संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij