काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण रसुवागढी नाका बगेपछि चीनसँगको यात्रु आवागमनका लागि सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको हिल्सा नाका वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेका छन्।
२०८३ भदौ १० गते आएको बाढीबाट रसुवागढीस्थित अध्यागमन कार्यालयलगायत संरचनामा क्षति पुगेपछि उक्त नाका हुँदै हुने यात्रु आवागमन प्रभावित भएको हो।
अध्यागमन विभागका अनुसार भदौ १० देखि २९ गतेसम्म तातोपानी नाका हुँदै ३ हजार ९०४ जना यात्रु नेपाल प्रवेश गरेका छन्। प्रवेश गर्नेमा १ हजार ७३३ जना महिला छन्। सोही अवधिमा ३९१ जना यात्रु तातोपानी नाका हुँदै चीनतर्फ प्रस्थान गरेका छन्।
त्यस्तै, हिल्सा नाका हुँदै सो अवधिमा ३८७ जना यात्रु नेपाल प्रवेश गरेका छन्। नेपाल प्रवेश गर्नेमध्ये १६५ जना रसुवागढी नाका हुँदै चीन गएका यात्रु रहेको विभागले जनाएको छ। हिल्सा नाका हुँदै १७८ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन्।
विशेषगरी कैलाश–मानसरोवर यात्रा तथा चीनको तिब्बत भ्रमणमा गएका यात्रुहरू नेपाल फर्कने क्रममा तातोपानी र हिल्सा नाका प्रयोग गरिरहेका छन्। चीनतर्फ प्रस्थान गर्ने यात्रुले समेत यी नाका प्रयोग गर्न थालेका छन्।
वैकल्पिक नाकाबाट आवतजावत गर्ने विदेशी यात्रुमध्ये भारतीय, बेलायती र अमेरिकी नागरिकको संख्या बढी रहेको अध्यागमन विभागले जनाएको छ।
रसुवागढी नाका अवरुद्ध भएपछि चीनसँगको यात्रु आवागमनमा तातोपानी र हिल्सा नाका महत्वपूर्ण वैकल्पिक मार्ग बनेका छन्। यात्रुको सहज आवागमन तथा अध्यागमन व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभएको छ।