२०८३ साउन १० आइतबार

ऋण नतिर्दा सहकारीमा विवाद, माइन्युट नै कब्जामा लिएर ३१२ शेयर सदस्यको रकम झ्वाम

ई आर्थिक    सोमबार, पौस ११ २०७९
9K
Shares
ऋण नतिर्दा सहकारीमा विवाद, माइन्युट नै कब्जामा लिएर ३१२ शेयर सदस्यको रकम झ्वाम

पर्वत । पर्वतको एक सहकारीमा शेयर सदस्यले लगेको ऋण चुक्ता नगर्दा विवाद भएको छ । जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा महिलाहरूको व्यवस्थापनमा सञ्चालित उन्नतिशील महिला विकास बहुउद्देश्यीय सहकारी ऋणीकै कारण विवादमा परेको हो ।

ऋण लिएका शेयरधनीले नै लामो समयसम्म ऋण चुक्ता नगरी माइन्युट कब्जामा लिएपछि २ वर्षदेखि लेखापरीक्षण र साधारणसभा समेत हुन सकेको छैन । २०६२ सालमा स्थापना भएको सहकारीले नियमित बचत, ऋण लगानी, पशुपालनलगायत महिला लक्षित आम्दानीका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सहकारीका पूर्व अध्यक्षसमेत रहेका दु्रपती गुरुङ र शेयर सदस्य रिता गुरुङले ऋण तिर्नुको सट्टा उल्टै संस्थाका खातापाता नियन्त्रणमा लिएपछि विवाद बढेको सहकारीका पूर्वअध्यक्ष हीरादेवी थापा मगरले बताइन् ।

‘समयमै ऋण चुक्ता गर्नुस् भन्दै हामीले पटकपटक जानकारी गरायौं,’ उनले भनिन्, ‘त्यो पैसा तिर्नु त परको कुरा, माइन्युट नै खोसेर लैजानुभयो । हामीले धेरैपटक आग्रह ग¥यौं, माइन्युट नल्याएकाले अडिट र साधारणसभा हुनै सकेन ।’ २०७८ मङ्सिर ३ मा उनीहरूले माइन्युट खोसेर लगेको र कार्यालयमा तालाबन्दी गरेको थापामगरले बताइन् ।

शेयर सदस्यले खातापाता फिर्ता दिन अटेरी गर्दै आएको सञ्चालकको दाबी छ । खातापाता नहुँदा सहकारीले लेखापरीक्षण गर्न नसकेको हो । सहकारीका अध्यक्ष राधिका रिजाल पौडेलका अनुसार सहकारीका ३१२ जना शेयर सदस्य छन् । सहकारीले ४७ लाख ८५ हजार रुपैयाँ लगानी गरेको छ । लगानी गरेकोमध्ये १० लाख ७६ हजार रुपैयाँ उठ्न बाँकी छ ।

सहकारीमा २०८ जना नियमित बचतकर्ता छन् । उक्त सहकारीको विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रहरी कार्यालय र कुश्मा नगरपालिकासम्म समेत पुगे पनि समाधानमा कुनै निकायले ठोस पहल गरेको छैन । कुश्मा नगरपालिकाले दुवै पक्षलाई राखेर विवाद समाधानको प्रयास गरिने बताएको छ । नगरको सामाजिक विकास शाखाअन्तर्गत सहकारी शाखाका प्रमुख ऋषिराम शर्माले उक्त सहकारीको समस्या कार्यालयको प्राथमिकतामा रहेको भन्दै दुवै पक्षलाई राखेर अघि बढ्ने तयारी भएको बताएको समाचार आर्थिक अभियानले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij