२०८३ साउन २० बुधबार

सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद विवाद : गल्ति स्वीकार गरेका नेप्सेका सीईओ साउदलाई होला कारवाही ?

ई आर्थिक    मंगलबार, भाद्र १ २०७८
13K
Shares
सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद विवाद : गल्ति स्वीकार गरेका नेप्सेका सीईओ साउदलाई होला कारवाही ?

ई–आर्थिक, काठमाडौं । सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद विवादमा मुछिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले गल्ती गरेको स्वीकार गरेका छन् । यो बिषयमा आफ्नो गल्ति भएको भन्दै उनले माफी समेत मागेका छन् ।

सीईओ साउदले आफ्नो गल्ति स्वीकार गरे पनि केही कारबाही भएको छैन । गल्ति गर्दा काराबाही हुन्छ कि हुन्न भन्ने विषय सेयर लगानीकर्ताले प्रतिक्षा गरिरहेका छन् ।

संघीय संसद्को अर्थ समितिको सोमबार बसेको बैठकमा उनले ऐन नियम र आचारसंहिता हेरेर नै सेयर खरिद गरेको भए पनि समाजमा आलोचित भएको भन्दै आगामी दिनमा यसलाई ख्याल गर्नेसम्म बताएका थिए । समितिमा उनले भने ‘मैले नेप्सेको सीईओको हकमा लागू हुने ऐन नियम र आचारसंहिता समेत हरेर सेयर किनेको हो ।’

त्यसले मात्र नपुग्ने रहेछ । हाम्रो पछाडि समाज पनि छ भन्दै उनले आगामी दिनमा यस्तो प्रश्न उठ्ने ठाउँबाट एक कोस टाढै रहने प्रतिबद्धता व्यक्त गरे ।

साउदले इन्साइड ट्रेडिङमार्फत कारोबार भएको भन्दै अनावश्यक हल्ला फैलाएको प्रतिवाद पनि गरे ।

‘नेप्से शुद्ध रूपमा सेयर उपलब्ध गराउने निकाय भएको हुनाले हाम्रो सञ्चालक समितिको आचारसंहिताले रेगुलेटेड सेकेन्डरी मार्केटबाहेक अन्य कुनै पनि संस्थाको संस्थापक सेयर किन्न कुनै बाधा पर्ने छैन भनेर लेखिएको छ,’ उनले भने “त्यहीअन्तर्गत त्यो सेयरको कारोबार भएको हो । त्यो कुनै नियम मिचेर होइन । नैतिकताको प्रश्नमात्र हो ।’

उनले आफू देशको नागरिक भएकाले कानुनअनुसार लगानी गर्न पाउनुपर्ने जिकिर पनि गरे ।

बुक विल्डिङ प्रक्रियामार्फत साधारण सेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टमा सीईओ साउदकी श्रीमतिको नाममा साथै धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले छोरीका नाममा संस्थापक सेयर किनेका थिए । यस विषयमा अर्थ समितिले आइतबार ढुंगानालाई पनि बोलाएर छलफल गरेको थियो । ढुंगानाले भने बिहे गरेको छोरीले उक्त सेयर खरिद गरेको त्यसलाई कानुनले बन्देज नलगाएको दाबी गरेका थिए ।

नियामक निकायको जिम्मेवारीमा बसेर कानुनका छिद्र खोजेर ‘गोल्डेन सेयर‘ हात पारेको समाचार बाहिरीए पछि दुबैलाई नैतिकताको संकट परेको छ ।

बैठकमा सांसदहरूले भने नियामक निकायमा बसेर सेयर कारोबार गर्न नमिल्ने दाबी बताए । बैठकमा सांसद रामकुमारी झाँक्रीले सेयर कारोबार गर्ने भए नियामक निकाय छोडेर कम्पनी खोल्नसमेत सुझाव दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij