ई– आर्थिक, काठमाडौं । जेठ ६ गते हुने बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाको सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेवद्वार डा. खिमलाल देबकोटाको बिजयी सुनिश्चित बनेको छ । नेपाली काँग्रेस, नेकपा माओबादी, उपेन्द्र यादबनिकट जसपा, माधब नेपालनिकट नेकपा एमाले गठबन्धनका साझा उम्मेद्वार देबकोटालाई एमालेनिकट केपी ओली समूहको समेत केही मत जाने भएपछि यस्तो स्थिति देखिएको हो । गृहमन्त्रीको लोभमा एमाले बनेका रामबहादुर थापा.(बादल) लाई पार्टीभित्रको शक्ति सन्तुलनका लागि हराउनै पर्ने ओली समूहको बाध्यताका कारण यस्तो तयारी गरिएको स्रोतले जानकारी दिएको छ । गोप्य मतदान हुने भएकाले यसलाई सफल कार्यान्वयन गर्न ओली समूहका केही नेतालाई जिम्मेवारी सुम्पिएको बताइएको छ ।
यस निर्बाचनमा गृहमन्त्रीसमेत रहेका थापा नेकपा एमालको उम्मेद्वार हुन । गठबन्धनको साझा उम्मेदवार हुनु परेका कारण डा. देवकोटा स्वतन्त्र उम्मेद्वारका रुपमा छन् । त्यसो त चुनावी मैदानमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्ण तामाङ पनि छन् । तर चुनावमा थापा र देवकोटाबीच नै प्रतिस्पर्धा हुने छ । यो निर्बाचनमा प्रदेशको ११९ स्थानीय तहका २३८ प्रमुख र उपप्रमुख तथा १०९ प्रदेश सभा सदस्यले मतदान गर्नेछन् । राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख एवं उपप्रमुख मतदाताका रूपमा रहने व्यवस्था छ ।
प्रत्येक प्रदेशसभा सदस्यको मत बराबर ४८ मतभार गणना हुन्छ । त्यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुख दुवैको मतभार समान १८ रहेको छ ।
वागमती प्रदेशमा नेकपा एमाले नै ठूलो दल रहेको छ । एमालेसँग प्रदेशसभाका ५७ जना र स्थानीय तहका १३३ जना मतदाता रहेका छन् । यसअनुसार एमाले बिभक्त नहुदा प्रदेशको २ हजार ८ सय ३६ र स्थानीय तहको २ हजार ३ सय ९४ गरी कुल ५ हजार १ सय ३० मत एमालेका उम्मेद्वार थापाले पाउनु पर्ने हो । यो भनेको बिजयीको लागि भारी मत हो । यद्यपि पार्टीगत रुपमा देबकोटा माधब नेपालनिकट उम्मेद्वार भएकाले एमालेको मत बिभाजन हुने निश्चित छ । एमालेका १३३ जना स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये ३८ जना प्रमुख तथा उपप्रमुख माधव नेपाल पक्षमा खुलेका छन् । यो भनेका ६ सय ८४ मत हो । त्यस्तै नेपाल पक्षमा २२ जना प्रदेशसभा सदस्य छन् । यो भनेको १ हजार ५६ मतभार हो । यो मत नै एमालेका उम्मेदवारलाई थापा हार्न पर्याप्त हुन्छ ।
नेपाली कांग्रेसको प्रदेशसभाको १ हजार ५६ र स्थानीय तहको १ हजार २ सय २४ गरी कुल २ हजार २ सय ८० मत रहेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रसँग प्रदेशसभातर्फ १ हजार १ सय ४ र स्थानीय तहतर्फ ५ सय ९४ गरी कुल १ हजार ६ सय ९८ मत छ । वागमती प्रदेशमा विवेकशील साझासँग १ सय ४४, नेपाल मजदूर किसान पार्टीसंग १ सय ३२ , राष्ट्रिय प्रजातन्त्र पाटीसँग १ सय ३२ र जनता समाजवादी पाटीसंग ६६ मतभार रहेको छ । यसरी माधब नेपालनिकटको मत बाहेक नै विपक्षसँग ४ हजार ४ सय ५२ मत हुन्छ । नेपालनिकट एक हजार ७ सय ४० थपिदा ६ हजार १ सय ९२ मत हुन्छ । यो भनेको झण्डै दोब्बर मत हो ।
ओलीनिकट मत नै देबकोटालाई जाने
नेकपा एमालेको आधिकारिक उम्मेद्वार थापा भए पनि ओलीनिकट केही मत देबकोटालाई जाने छ । रामबहादुर थापालाई हराउनै पर्ने बाध्यता यो समूहमा रहेको हुदा ओली समूले यस्तो योजना कार्यान्वयन गर्दैछ । थापालाई हराउन ओलीनिकट प्रदेशका ७ साँसद र स्थानीय तहका १७ जना प्रमुख उपप्रमुखलाई अति गोप्य सर्कुलर गरिएको बिस्वस्त स्रोतको दाबी छ । गोप्य मतदान हुने भएकाले यो निकै सफलतापूर्बक कार्यान्वयन गर्ने तयारी छ ।
बाहिर दृश्यमा ओलीनिकट एक गठजोड जस्तो भए पनि भित्रीरुपमा थापालाई मत क्रस गरिने छ । थापालाई ओली समूहमै अबसरबादी एमालेका रुपमा चित्रण गरिन्छ । गृहमन्त्री नपाए उनी एमाले बन्नै नसक्ने उक्त समूहमा चर्चा हुने गरेको छ । बिगतमा रामबहादुर थापाको पार्टी माओबादीसँग लडेर, भीडेर बचाएको एमालेमा खाने बेलामा पार्टी त्यागेर आएको ओलीनिकट नेताहरुको भनाई छ । थापालाई एमालेको बिचार, सिद्धान्त र कार्यदिशा मन परेको नभए गृहमन्त्रीको पद मात्रले आकर्षण गरेको आम एमालेजनको बुझाई छ । त्यसैले थापालाई नक्कली र अबसरबादी एमालेका रुपमा लिइन्छ ।
हिजो एमाले सिध्याउने सैनिक कमाण्डर थापालाई भोट हाल्नु पर्ने अबस्था आएकाले कतिपय एमालेहरु बिक्षिप्त बन्न थालेका छन् । रामबहादुर थापाले राजकीय पदमा मात्र नभई पार्टीभित्र पनि असर पु¥याउने भएकाले अहिले यही मौकामा हराएर साइजमा ल्याउने तयारी ओली समूहको छ । अहिले हराउदा बिपक्षी गठबन्धन बलियो भएकाले थापाले समेत स्वभाबिकरुपमा लिने उक्त समूहको ठम्याई छ ।
अहिले थापाले हारेमा पार्टीभित्र उनको कुनै प्रभाब नरहेको ओली समूहको निस्कर्ष छ । अहिले चुनाब हार्दा एक त उनको राजनीतिक प्रभाब शून्य भएर जानेछ अर्कोतिर केही महिनापछि नै उनले गृहमन्त्रीबाट समेत हात धुनु पर्ने छ । यस अबस्थाले थापा ओली समूहको एउटा बफादार कार्यकर्तामा मात्र सीमित हुने छन् ।
अहिले थापाले निर्बाचन जिते पार्टीभित्र ओलीको उत्तराधिकारीलाई समेत अप्ठ्यारोमा पार्न सक्ने उक्त समूहमा कुरा उठिरहेको छ । उनको प्रभाब कायमै रहे पार्टीको कुन पदमा ब्यबस्थापन गर्ने भन्ने समस्या आउने उक्त समूहको बुझाई छ । ओली समूहमा ओलीको उत्तराधिकारीको बिषयलाई निकै गम्भीररुपमा लिने गरिएको छ । ओली समूह खास गरेर शंकर पोखरेललाई आफ्नो उत्तराधिकारी बनाउन चाहन्छ । बिचार र लिगेसी दुबै कोणबाट शंकर नै भाबी नेत्रृत्व हुन सक्छन् भन्ने ओली समूहमा बलियो मत छ । यसमा राष्ट्रपति बिद्यादेबी भण्डारीको सबभन्दा बढी जोड छ ।
शंकर भए जबजको रक्षा र बिकासमा कुनै चिन्ता लिनु नपर्ने उनको बुझाई छ । शंकरलाई नेत्रृत्वमा स्थापित गर्नैका लागि ओली समूहले बिष्णु पौडेल, ईश्वर पोखरेल र बामदेब गौतमलाई बिभिन्न बिबादमा फसाएको बताइन्छ । पौडेल, पोखरेल र गौतम शंकरका सबभन्दा बढी प्रतिश्पर्धी ठानेर उनीहरुलाई बिभिन्न काममा उछालेर बिबादित बनाइएको हो ।
पौडेललाई बालुवाटार प्रकरण, पोखरेललाई यति र ओम्नी प्रकरण र गौतमलाई पदलोलुपताको प्रकरणले निकै नै कमजोर बनाएको छ । यि काण्डले उल्लेखित नेताहरु कमजोर बनेपछि सुबास नेम्वाङलाई शितल निबासमा ब्यबस्थापन ओली समूहको योजना थियो ।
यति गरेपछि शंकरलाई नेत्रृत्वमा छेक्न सक्ने अर्को नेता ओली समूहमा थिएन । तर यही बिचमा रामबहादुर थापाको प्रबेश भएपछि पार्टी नेत्रृत्वका लागि केही अप्ठ्यारो महसुस गरिएको छ । थापा शंकरभन्दा सिनियर हुनु र ओलीपछि थापासहित गठबन्धन गरेर शंकरलाई पछि पार्न सक्छन कि भन्ने आशंकाले हेरिएको छ । त्यसैले उनको ब्यक्तित्व र प्रभाबलाई अहिलेदेखि नै कैची लगाउन यो उपनिर्बाचनमा हराउनै पर्ने ओली समूहको गुप्त योजना देखिन्छ ।