काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै दुई वटा विकास बैंक र एक फाइनान्स कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।
गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा गरिएको अनुगमन तथा निरीक्षणका क्रममा नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सले विभिन्न प्रकारका नियामकीय व्यवस्था उल्लंघन गरेको भेटिएपछि राष्ट्र बैंकले आवश्यक कारबाही गरेको हो।
राष्ट्र बैंकका अनुसार, समस्याग्रस्त संस्थाको सूचीबाट हट्दा तोकिएका सर्तहरूको उल्लंघन गरेको पाइएपछि नारायणी डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विष्णु रेग्मीलाई सचेत गराइएको छ।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा एउटै ग्राहक, फर्म वा समूहलाई प्राथमिक पुँजीको अधिकतम १० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था उल्लंघन गरेको थियो। सोही आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम भविष्यमा यस्ता कमजोरी नदोहोर्याउन चेतावनी दिइएको हो।
यसैबीच, सप्तकोशी डेभलपमेन्ट बैंकको २०८२ असोज मसान्तसम्मको वित्तीय विवरणका आधारमा गरिएको स्थलगत निरीक्षणमा भल्टमा रहेको नगद अपचलन भएको तथा ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहुँच पुगेको तथ्य फेला परेको राष्ट्र बैंकले जनाएको छ।
साथै, बैंकको आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर कमजोरी देखिएको, घटनाको विस्तृत छानबिन गरी दोषीमाथि आवश्यक कारबाही नगरेको र नीति तथा कार्यविधिमा सुधारसमेत नगरेकाले बैंकलाई नेपाल राष्ट्र बैंक ऐनअनुसार सचेत गराइएको छ।
यस्तै, रिलायन्स फाइनान्सले २०८२ फागुन १० गतेदेखि २०८३ वैशाख ५ गतेसम्म अनिवार्य मौज्दात रकम कायम नगरेकाले राष्ट्र बैंकले प्रचलित व्यवस्थाअनुसार २ हजार ९२४ रुपैयाँ ४८ पैसा जरिबाना गरेको जनाएको छ।