२०८३ असोज ५ सोमबार

काभ्रेपलाञ्चोकको तीन स्थान वातावरणमैत्री गाउँ स्थापित

ई आर्थिक    शुक्रबार, चैत्र २५ २०७३
5.1K
Shares
काभ्रेपलाञ्चोकको तीन स्थान वातावरणमैत्री गाउँ स्थापित

२५ चैत, काठमाडौँ । काभ्रेपलाञ्चोकको तीन स्थान वातावरणमैत्री गाउँका रुपमा स्थापित भएका छन् ।

वातावरणमैत्री क्रियाकलाप गर्दै त्यहाँका कृषकले जीविकोपार्जनसमेत गरेपछि त्यसलाई अझ प्रभावकारी बनाउन सरोकार भएकाले आज यहाँ आयोजित ‘इको भिलेज’ विकाससम्बन्धी कार्यशालामा जोड दिएका छन् ।

उनीहरुले वातावरणमैत्री कार्यक्रमलाई निरन्तररुपमा सञ्चालन गर्न आग्रह गर्दै वातावरणमैत्री जनजीवन दिगो बनाउन सबै अग्रसर हुनुपर्ने औँल्याए ।

जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सहसचिव डा रामप्रसाद दाहालले वातावरण र जलवायु परिवर्तन गरिबी न्यूनीकरणसँग जोडिएको विषय भएको उल्लेख गर्दै सरकारको बजेट तथा कार्यक्रममा मूलप्रवाहीकरण आवश्यक भएको बताउनुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वातावरणमैत्री स्थानीय शासनका गुरु सुवेदीले खानेपानीको स्रोत, इनार संरक्षण, खानेपानीको मूल संरक्षणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै प्लास्टिक पोखरी विस्थापन गरेर प्राकृतिक पोखरी बनाउन जोड दिनुभयो ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका च्याम्रेङ्वेंसीकी मखमलीमाया गोलेले वातावरणमैत्री कार्यक्रमअन्तर्गत जैविक विषादीको उत्पादन, फोहर व्यवस्थापन, तरकारी खेती, मत्स्यपालनलगायतका कार्यक्रम सञ्चालन भएपछि त्यसले जनजीवनमा सकारात्मक प्रभाव परेको बताउनुभयो । उहाँले भन्नुभयो – “पहिले हामीलाई कुनै विषयमा पनि जानकारी थिएन तर वातावरणमैत्री कार्यक्रम सञ्चालन भएपछि यसबाट दिगो लाभ लिएका छौँ ।

वातावरण विभागका केशवराज जोशीले ‘क्लाइमेट स्मार्ट भिलेज कार्यविधि–२०७३’ कार्यान्वयनको अवस्थामा आउन लागेको जानकारी दिनुभयो ।

ग्रामीण प्रविधि केन्द्रका सल्लाहकार लुमिन श्रेष्ठले ग्रामीण विकासमार्फत गरिबी न्यूनीकरण गर्नुका साथै ग्रामीण स्रोतको उपयोग र परिचालन गर्न र नीति निर्माणको तहमा वकालतको काम गर्न वातावरणमैत्री कार्यक्रमले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

काभ्रेपलाञ्चोकको चलालगणेशस्थान, ढुङ्खर्क र च्याम्राङ्बेँसीमा दुई वर्षदेखि वातावरणमैत्री कार्यक्रम सञ्चालन भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij