२०८३ असोज ६ मंगलबार

जलवायु क्षतिपूर्ति सुनिश्चित गर, जलवायु न्याय हाम्रो अधिकार : शान्ति समाज

ई आर्थिक    सोमबार, असोज ५ २०८३
988
Shares
जलवायु क्षतिपूर्ति सुनिश्चित गर, जलवायु न्याय हाम्रो अधिकार : शान्ति समाज

काठमाडौं ।   ४५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर)का अवसरमा मानव अधिकार तथा शान्ति समाजले “शान्तिका लागि सद्भावः जलवायु न्याय हाम्रो अधिकार” भन्ने मुख्य आह्वानसहित देशका विभिन्न जिल्लामा प्रदर्शन तथा नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ।

यसै क्रममा असोज ५ गते काठमाडौँको माइतीघर मण्डलामा दिउँसो आधा घण्टा विशेष प्रदर्शन आयोजना गरियो। सो क्रममा सहभागीहरूले जलवायु परिवर्तनका असर, हिमाली क्षेत्रको सुरक्षा, सीमापार सहकार्य र वातावरणीय न्यायसँग सम्बन्धित विभिन्न नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा ‘हिमालयको काखमा सुन्दर नेपालः छिमेकीहरूबाट खप्दै छ दोहोरो मार’, ‘रसुवा त्रासदीबाट सिक्नु पर्ने पाठः नदी किनाराका बस्तीहरूको वर्गीकरण र सुरक्षित पुनर्वास’, तथा ‘सीमापार हुने जलवायु तथा नदीजन्य जोखिम न्यूनीकरणका लागि नेपाल-चीन र भारतबीच सहकार्य एवम् वैज्ञानिक सूचना साझेदारी आवश्यक’ जस्ता विषयमा ध्यानाकर्षण गराइएको थियो।

त्यस्तै, हरितगृह ग्यास बढी उत्सर्जन गर्ने धनी राष्ट्रहरूले नै जलवायु परिवर्तनका कारण हुने क्षति र दुर्घटनाको मुख्य जिम्मेवारी लिँदै क्षतिपूर्ति बहन गर्नुपर्ने माग गरिएको छ।

चुरे संरक्षण, भावी पुस्ताका लागि प्रकृतिमैत्री जीवनशैली, नेट जिरो लक्ष्य, जलवायु शिक्षालाई पाठ्यक्रममा समावेश गर्ने र आन्तरिक विस्थापन तथा जलवायु आप्रवासन सम्बन्धी राष्ट्रिय नीति तथा कानुन निर्माणका लागि पनि प्रदर्शनकारीहरूले जोड दिएका छन्।

माइतीघरको कार्यक्रमका साथै शान्ति समाजको पाल्पा शाखाले असोज ४ गते र सुनसरी शाखाले असोज ५ गते नागरिक संवाद कार्यक्रम आयोजना गरेका छन्। त्यसैगरी सुर्खेत, चितवनलगायत आधा दर्जन शाखाहरूले पनि जलवायु न्याय र सद्भाव प्रवर्द्धनको माग गर्दै आ-आफ्नो क्षेत्रमा प्रदर्शन तथा विभिन्न कार्यक्रम सम्पन्न गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij