काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गर्न प्रतिनिधि सभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव गर्नुभएको ‘रोखको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ गठनको प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो।
सभामुख अर्यालका अनुसार समितिलाई जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असर र भोटेकोशी बाढीको विस्तृत अध्ययन गर्ने, बाढी प्रभावित नागरिकको पुनःस्थापना, दिगो पुनर्निर्माण, जोखिम न्यूनीकरण, कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्ने कार्यदेश (टीओआर) दिइएको छ।
साथै, समितिले हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलाधारको परिवर्तन र जोखिम तथ्याङ्कको समीक्षा गर्दै अनुसन्धान प्रणाली सुदृढीकरणका उपायहरू समेत सिफारिस गर्नेछ।
गठित समितिमा सांसदहरू अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, डा. धनञ्जय रेग्मी, ध्रुववराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङ्मा ग्याबु शेर्पा, रमेशकुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया हुनुहुन्छ।
संसदीय विशेष समितिको कार्यअवधि पहिलो बैठक बसेको मितिले तीन महिनाको हुने जानकारी सभामुखले गराउनुभएको छ।