काठमाडौँ : काठमाडौँ महानगरपालिकाले गरेको बजार अनुगमनको क्रममा नक्कली मह बनाएर व्यावसायिक रुपमा बिक्री वितरण गर्ने गरेको पाईएको छ। आज बिहान कामपा उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीलले गोङ्गबु मित्रनगरमा नक्कली मह बनाउने सामान फेला पारेको छ ।
होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउने सामान राखी उक्त स्थानबाटनै व्यावसायिक रुपमा मह बनाउने र बिक्री गर्ने गरेको पाईएको छ ।
अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ । अहिले दुई जना व्यापारी सम्पर्कमा आएका छन्। उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाइने भएको छ । होटलमा अनुगमन टोली पुग्दा अन्य व्यापारी मह बेच्न बाहिर गएका थिए ।
होटल सञ्चालक लीलाबल्लभ पराजुलीका अनुसार उनीहरुले साँझ मह बनाउने र दिउँसो बेच्ने गरेका थिए । पराजुलीका अनुसार उनीहरु मह बेच्ने पुराना व्यापारी हुन् । अनुगमन टोलीको नेतृत्व गरिरहेका कामपाको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार महको चाका मैदाको हुन सक्छ । अन्य रसायन के के प्रयोग गरेका छन् अध्ययन भइरहेको बताइएको छ। अनुगमन टोलीले होटलका तीन वटा कोठामा भएका सामान बटुलेर एउटै कोठामा राखेर ताला लगाएको छ ।
त्यहाँ नौ किलो १८६ ग्रामका २८ पोका मह बनाउने सामग्री र १३ टिन माहुरीको चाका छ। यस्तै अन्य सामग्रीको सानातिना धेरै पोका छन् । रासस