२०८३ साउन ९ शनिबार

हावाबाट पनि कोरोना भाइरसको सङ्क्रमण सर्न सक्छ : विश्व स्वास्थ्य संगठन

ई आर्थिक    बुधबार, असार २४ २०७७
8.7K
Shares
हावाबाट पनि कोरोना भाइरसको सङ्क्रमण सर्न सक्छ : विश्व स्वास्थ्य संगठन

ई–आर्थिक, काठमाडौं । हावाबाट पनि कोरोना भाइरसको संक्रमण सर्न सक्ने विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । एरोसोल भनिने हावामा रहने साना कणमार्फत् कोरोनाभाइरस फैलन सक्ने प्रमाण जुट्दै गरेको विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले मङ्गलवार स्वीकारेको हो ।

यसअघि वैज्ञानिकहरूको एक समूहले डब्लुएचओलाई कोरोनाभाइरस सङ्क्रमण रोकथामसम्बन्धी विद्यमान निर्देशिकामा सुधार गर्न अपिल गरेका थिए ।

डब्लुएचओकी वरिष्ठ अधिकारी बेनेडेटा आलेग्रान्जीले भिड भएको स्थल, बन्द कोठा वा हावा ओहोरदोहोर गर्ने अवस्था नभएका ठाउँमा हावाबाट सङ्क्रमण सर्दैन भन्न नसकिने बताएकी छन् ।

‘तर यसको पक्का प्रमाण जुटाउन र बुझ्न अझै जरुरी छ। यो काम हामी जारी राख्छौँ,’ उनले बताइन् ।

सोमवार २३९ वैज्ञानिकले डब्लुएचओलाई हावाबाट सङ्क्रमण सर्न सक्ने खतरालाई कम आँकेको भन्दै एक खुलापत्र लेखेका थिए ।
यदि यो चेतावनी पुष्टि भएको खण्डमा कोरोनाभाइरस सङ्क्रमण रोकथाम बारेका निर्देशिका परिवर्तन गर्नुपर्ने बताइएको छ ।
त्यसमा मास्कको प्रयोग व्यापक गर्नुपर्ने तथा सार्वजनिक यातायात एवम् बारजस्ता भिड हुने स्थानमा सामाजिक दूरीको कडिकडाउ पालना गर्नुपर्ने हुन्छ ।

योभन्दा अघिसम्म विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमित मानिसको नाक तथा मुखबाट निस्कने छिटाका माध्यमबाट फैलने बताएको थियो ।

उसले मानिसहरूबीच कम्तीमा ३।३ फिटको दूरी भएमा भाइरस सङ्क्रमणको रोकथाम सम्भव हुने बताएको थियो ।

तर यदि हावाका साना कणमार्फत् पनि सङ्क्रमण फैलने पुष्टि भएमा यो दूरीको नियममा पनि परिवर्तन गर्नुपर्ने हुन्छ ।
डब्लुएचओकी डा. मारिया केरखोबले आगामी दिनमा उसले नयाँ सन्देश जारी गर्ने बताइन् ।

उनले भनिन्, ‘कोरोनाभाइरसको सङ्क्रमण रोक्नका निम्ति ठूलो स्तरमा रोकथामको आवश्यकता छ। यसमा भौतिक दूरीका साथै मास्कको प्रयोग तथा अन्य नियम पनि छन् ।’

सोमवार एक जर्नलमा प्रकाशित एक खुलापत्रमा ३२ देशका २३९ जना वैज्ञानिकले यो भाइरस ुहावामा तैरन सक्नेु र सास लिँदा मानिसमा सर्नसक्ने उल्लेख गर्दै प्रमाण दिएका थिए ।

उनीहरूले कोरोनाभाइरसको यो ताजा प्रमाणबारे पुनः विचार गरेर निर्देशिकाहरू जारी गरिनुपर्ने उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij