२०८३ साउन ८ शुक्रबार

स्वास्थ्य मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी, दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन हुने

ई आर्थिक    मंगलबार, साउन ५ २०८३
380
Shares
स्वास्थ्य मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी, दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन हुने

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। समझदारीअनुसार आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडबाट ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ।

हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको छ। नयाँ योजनाअन्तर्गत उच्च रक्तचाप, मधुमेह लगायत दीर्घरोगका औषधिसमेत स्वदेशमै उत्पादन गरिनेछ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास (R&D), गुणस्तर परीक्षण, उत्पादन अनुमति तथा प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ।

समझदारीअनुसार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गरिने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइनेछ।

यस समझदारीपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच संस्थागत र नियमित प्रणालीमार्फत हुने व्यवस्था गरिनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

मन्त्रालयका अनुसार नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिनेछ।

मन्त्रालयले यस पहलबाट स्वदेशी औषधि उद्योगको प्रवर्द्धन, औषधिमा आत्मनिर्भरता अभिवृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने सरकारको दीर्घकालीन लक्ष्यलाई थप सशक्त रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij