कोरोना भाइरसको असर
ई–आर्थिक, काठमाडौं । कोरोनाभाइरसका कारण नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित विदेशमा गरिने प्रचारात्मक कार्यक्रम स्थगित भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै विदेशमा गरिने प्रचारप्रसारका सबै कार्यक्रम स्थगित गर्न लागिएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
सो भाइरसका कारण सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गर्न लागेको बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । प्रचारप्रसार गर्न लागेका मुलुकले समूहमा कार्यक्रम नगरिदिए हुन्थ्यो भन्ने आशय देखाएपछि रोक्ने निर्णय गर्न लागेका उनले बताए । विश्वको ध्यान एकातिर हुँदा नेपाल अर्कोतिर जानु पनि ठीक नहुने पनि उनको भनाई छ ।
खासगरी यसअघि नै जापान र जर्मनीमा गर्न लागिएको पर्यटन प्रचारप्रसारको कार्यक्रम रद्द गरिसकिएको उनले जानकारी दिए । विदेशमा गरिने प्रचारात्मक कार्यक्रम स्थगित गर्नेबारे भोलि बिहान औपचारिक रुपमा निर्णय गरिने पनि उनले बताए ।
‘हामीले प्रचार गर्न जाँदा रोगको सङ्क्रमण फैलिएर त्यसले उल्टो असर पर्यो भने त्यो झन् नराम्रो हुन्छ। त्यसैले यसको असर कम नहुँदासम्मको लागि विदेशमा गरिने हाम्रा कार्यक्रम रोक्न लागेका हौं’, रेग्मीले भने । त्यसको सट्टा आन्तरिक पर्यटन प्रवर्द्धनमा ध्यान दिइने उनले बताए ।
सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । तर गत वर्षको अन्त्यदेखि चीनमा देखा परेको कोरोनाभाइरसको सङ्क्रमणले नेपालको उक्त लक्ष्य पूरा गर्न बाधक बनेको देखिन्छ ।
यसअघि पनि पर्याप्त पूर्वाधारको विकास नगरी महत्त्वाकाङ्क्षी लक्ष्य राखिएको भन्दै सरकारको आलोचना पनि भएको थियो । नेपालमा दैनिक रुपमा चीनबाट ६५ वटा उडान हुनेमा त्यो सङ्ख्या घट्दै गएर १६ वटामा पुगेको छ । आइतवार उक्त सङ्ख्या अझै घटेर ८ वटामा पुग्ने बताइएको छ ।
‘असर त परिसक्यो । त्यसैले अब अहिले हाम्रो प्राथमिकतामा आन्तरिक पर्यटन प्रवर्द्धन पार्नुपर्ने देखिएको छ। अहिले भर्खरै फेब्रुअरीमा छौं, आत्तिहाल्नु हुँदैन ।’ चीनबाहेक नेपालमा भ्रमणका लागि आउने अन्य देशमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखा परेपछि त्यसको असर नेपालको पर्यटनमा स्वभाविक रुपमा परिसकेको रेग्मीले बताए ।
अहिले कोरोनाभाइरसको सङ्क्रमण एसियालगायत युरोप, अफ्रिका, मध्यपूर्वका केही देशमा समेत देखा परिसकेको छ । नेपालमा भ्रमण गर्ने विदेशी पर्यटकमा भारतीय पछि चिनियाँ रहेकाले पनि त्यसको प्रभाव नेपालमा परिसकेको बताइन्छ ।