ई–आर्थिक, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सात जना उच्च पदाधिकारीको पहिलो स्मृति दिवसका अवसरमा आज नेपाल नागरिक उड्डयन प्राधिकरण आधिकारिक ट्रेड युनियनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको छ।
बिहीबार आयोजित उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक देवेन्द्र केसीलगायत प्राधिकरणका उच्च पदस्त कर्मचारीहरुको उपस्थिति थियो।

सो वृक्षरोपण कार्यक्रममा हेलिकप्टर दुर्घटनामा परि निधन भएका सातैजनाको सम्झनामा सात वटा विभिन्न प्रजातिका वनस्पतिहरु रोप्ने काम गरिनुका साथै सो स्थललाई स्मृति वगैंचा बनाउने दिर्घकालिन उद्धेश्य रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष उपाध्यक्ष ज्ञानेन्द्र भुलले बताए।
ट्रेड युनियनका अध्यक्ष श्रावण कुमार यादवले दिवंगत मन्त्री अधिकारी र सो घटनाले नेपालको उड्डयन क्षेत्रलाई ठुलो क्षति भएको कुरा बताउदै अबका दिनमा नेपालको हवाई क्षेत्रले यस्तो अकल्पनीय दुर्घटना नबेहोर्न उडान सुरक्षा र हवाई सुरक्षाको पक्षमा उल्लेखनिय काम गर्नुपर्ने बताए।

२०७५ सालको फागुन १५ गते आजकै दिन पाथिभरामा एअर डाइनेस्टीको हेलिकप्टर दुघर्टना हुँदा तत्कालीन पर्यटनमन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टरका चालक प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेसहित ७ जनाको निधन भएको थियो। तेह्रथुमको चुहानडाँडामा निर्माण हुन लागेको विमाननस्थल अवलोकनपछि फर्कंदै गर्दा ताप्लेजुङमा हेलिकप्टर दुर्घटना भएको थियो ।