ई–आर्थिक, काठमाडौं । धेरै दिनदेखि गर्ने भनिएको मन्त्रीमण्डल पुनर्गठनको प्रधानमन्त्री केपी शर्मा ओलीले रातारात गरेका छन् । उनले बुधबार अबेर गरेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । पुनगर्ठन गरिएको मन्त्रीमण्डलको सूचिबाट केही मन्त्रीलाई हटाइएको छ भने केहीलाई नयाँ नियुक्त गरिएको छ । प्रधानमन्त्री कार्यालयले अबेर राती मन्त्रीमण्डल पुनगर्ठन र जिम्मेवारी हेरफेरको सूचि राष्ट्रपति कार्यालयमा पठाएको थियो । सपथ भने विहीवार हुने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
नयाँ सूचिअनुसार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, खानेपानी मन्त्री बिना मगर, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, पर्यटनमन्त्री योगेश भट्टराई, गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री इस्तियाक राई, अर्थमन्त्री डा. युवराज खतिवडा, ऊर्जामन्त्री वर्षमान र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई पुनः यथावत रहेका छन्।
उपेन्द्र यादवले स्थान पाए पनि मन्त्रालय भने परिवर्तन भएको छ । स्वास्थ्य मन्त्रालयबाट उनलाई उपप्रधानमन्त्री तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । कानुमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमा परिवर्तन गरिएको छ।
कृषिमन्त्री चक्रपाणी खनाल, श्रम रोजगार मन्त्री गोकर्ण विष्ट, महिला बालबालिकामन्त्री थममाया थापा, उद्योग वाणिज्यमन्त्री मातृका यादवलाई भने प्रधानमन्त्री ओलीले पदमुक्त गरेका छन् ।
नयाँ थपिएका मन्त्रीहरुमा हृदयेश त्रिपाठी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्री, लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, रामेश्वरराय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायातमन्त्री र पार्वत गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका छन् ।
त्यसैगरी मोतीलाल दुगड, रामवीर मानन्धर र नवराज राउत राज्यमन्त्री बनेका छन् । दुगड उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका छन् भने मानन्धरलाई सहरी विकास राज्यमन्त्री र रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ ।
कुन मन्त्रालय कसको जिम्मेवारीमा ? (सूचीसहित)

