ई–आर्थिक, काठमाडौं । नेपालको प्रतिष्ठित औद्योगिक घरानाको रुपमा चिनिने ज्योती समूहका उपाध्यक्ष डा. रुपज्योति पक्राउ परेका छन् । उनी पूर्व राजा ज्ञानेन्द्रको शासनकालका पूर्वअर्थ राज्यमन्त्री समेत हुन । विमानस्थलबाट उनलाई महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको छ ।
अपार्टमेन्ट ठगी सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । ल्यान्डमार्क हाउजिङका नाममा उनले ठगी गरेको आरोपमा छ । सो हाउजिङका नाममा विभिन्न व्यक्तिसँग रकम ठगी गरेको मुद्दा उनलाई लागेको थियो । सोही मुद्दामा सर्वोच्चले जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेपछि उनलाई पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ । उनी सिंगापुरबाट सिल्क एयरमा नेपाल आएका थिए ।
पर्यटन व्यवसायी खेमराज नेपाल पनि प्रहरी अनुसन्धानमा

यसैबीच पर्यटन व्यवसायी खेमराज नेपाललाई पनि पक्राउ गरी मोरङ प्रहरीले अनुसन्धान अघि बढाएको छ । फेसबुकको म्यासेन्जरमा महिलालाई अश्लिल म्यासेज पठाएको अभियोगमा उनलाई मोरङ प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नेपालले महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेञ्जरमा अश्लिल सन्देश पठाएको पुष्टि भएको छ ।
जग्गा कारोबारी समेत रहेका उनी विराटनगर ३ भट्टा चोकमा बस्दै आएका थिए । नेपाल लायन्स क्लबमा पनि सक्रिय छन् ।
पीडित महिलाले लिखित उजुरी दिएपछि नेपाललाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन प्रहरीलाई उजुरी दिएकी थिइन । अभद्र व्यवहार ऐनअन्तर्गतको मुद्दा चलाउन उनलाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
सामाजिक सञ्जालमार्फत गरेको दुरव्यवहार वा गाली गलौज एवं अश्लिल हर्कतमा विद्युतीय अपराध (साइबर क्राइम) ऐन अन्तर्गतको मुद्दा चलाइने प्रहरीको भनाई छ । प्रहरीले पीडित महिलाले साइबर क्राइमअन्तर्गत मुद्दा चलाउन नमानेपछि अभद्र व्यावहार मुद्दामा अनुसन्धान थालेको छ ।