२०८३ असोज ७ बुधबार

त्रिपुरेश्वर बस आगलागीका घाइते चालकको उपचारका क्रममा मृत्यु, घटनाको छानबिन गर्न समिति गठन

ई आर्थिक    मंगलबार, असोज ६ २०८३
665
Shares
त्रिपुरेश्वर बस आगलागीका घाइते चालकको उपचारका क्रममा मृत्यु, घटनाको छानबिन गर्न समिति गठन

घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगजनी गर्दा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।

सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा चालकको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

‘गएराति बस चालकको उपचारका क्रममा मृत्यु भएको छ,’ एसपी सुवेदीले भने।

मृतक चालकको सनाखत हुन बाँकी

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बस चलाउने चालकको हालसम्म पहिचान खुलेको छैन।

यसअघि प्रहरीले चालकलाई बागमती गाउँपालिकाका दावा लामा भएको अनुमान गरेको थियो। घटनास्थलबाट प्रहरीले दावा लामाको नाममा रहेको लाइसेन्ससमेत फेला पारेको थियो।

तर पछि दावा लामा नाम गरेका व्यक्ति स्वयं प्रहरीको सम्पर्कमा आएर आफ्नो लाइसेन्स हराएको जानकारी दिएपछि मृतक चालकको पहिचान अन्य व्यक्ति हुनसक्ने देखिएको हो।

चालकका आफन्तसमेत हालसम्म सम्पर्कमा नआएकाले शवको सनाखत हुन नसकेको एसपी सुवेदीले बताए।

‘अहिलेसम्म आफन्तहरू कोही आउनुभएको छैन। त्यसकारण सनाखत हुन सकेन,’ उनले भने, ‘दावा लामा नाम गरेका व्यक्तिको लाइसेन्स बरामद भएको थियो। साथै ती व्यक्तिले पनि आफ्नो नाम दावा नै भन्दै गरेको रिपोर्टिङ भएको थियो। तर दावा लामा सम्पर्कमा आएर आफ्नो लाइसेन्स हराएको भन्ने खबर गरेका छन्। हामी बुझ्दैछौं।’

प्रहरीले मृतक चालकको वास्तविक परिचय खुलाउन थप अनुसन्धान गरिरहेको छ।

ट्राफिक प्रहरीसँग विवादपछि बसमा आगजनी

सोमबार मध्यान्ह त्रिपुरेश्वर चोकमा ट्राफिक प्रहरीसँग चालकको विवाद भएको भिडिओसमेत सार्वजनिक भएको थियो।

भिडिओमा चालकले आफूले गल्ती नगरे पनि ट्राफिक प्रहरीले चिट काट्न खोजेको भन्दै आक्रोश व्यक्त गरेको देखिन्छ।

विवादका क्रममा उनले सडकमा बस तेर्स्याएका थिए। त्यसपछि बसलाई बसस्टपमा लगेर रोकेका थिए।

यात्रुहरू बसबाट झरेपछि चालकले बसभित्रै आगजनी गरेको प्रहरीले जनाएको छ। आगजनीका क्रममा चालकसमेत गम्भीर घाइते भएका थिए।

प्रहरीले उनको उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पताल पठाएको थियो। उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको हो।

घटनाको छानबिन गर्न समिति गठन

घटनाको विस्तृत छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

समितिलाई घटनाको कारण, ट्राफिक प्रहरीसँग भएको विवाद, बसमा आगजनी भएको अवस्था तथा घटनासँग जोडिएका अन्य विषयमा अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन बुझाउन भनिएको छ।

प्रहरीले मृतक चालकको पहिचान तथा घटनाको सम्पूर्ण तथ्य छानबिन समितिको अनुसन्धानबाट थप स्पष्ट हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij