नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित होटल म्याक्समा प्रहरीले छापा मारेर अनलाइन जुवा तथा सट्टेबाजीमा संलग्न रहेको आरोपमा ४२ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतित सिंह राठौरका अनुसार मंगलबार राति करिब ८ बजे होटलमा छापा मारिएको हो। पक्राउ पर्नेमा ४० जना भारतीय नागरिक र दुई जना नेपाली नागरिक रहेका छन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू अनलाइन सट्टेबाजी सञ्चालन तथा खेलाउने कार्यमा संलग्न रहेको खुलेको छ। प्रहरीले पक्राउ परेकाहरूको साथबाट २८ वटा ल्यापटप र ७८ वटा मोबाइल फोन बरामद गरेको जनाएको छ।
होटलबाट अन्य विद्युतीय उपकरणसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामग्री तथा पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी राठौरले जानकारी दिनुभयो।
“होटलमा ठूलो परिमाणमा अनलाइन जुवा खेलाउने कार्य भइरहेको जानकारीका आधारमा छापा मारिएको हो। अन्य सबै जानकारी जुटाउने कार्य भइरहेको छ। विस्तृत जानकारी बुधबारसम्म दिन सकिनेछ,” उहाँले भन्नुभयो।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरू र बरामद विद्युतीय उपकरणबारे सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलाइन जुवा तथा सट्टेबाजीको प्रचार–प्रसार बढ्दै गएको भन्दै प्रहरीले त्यस्ता गतिविधिमाथि निगरानी बढाएको छ। सोही क्रममा होटल म्याक्समा ठूलो परिमाणमा अनलाइन जुवा तथा सट्टेबाजी भइरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।