काठमाडौं । स्वास्थ्य तथा खाध्य सुरक्षा मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ को प्रभावकारी कार्यान्वयन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने सरकारी अस्पताललाई छनोट गरी पुरस्कृत गर्ने भएको छ।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये स्वास्थ्य क्षेत्रको सुधारअन्तर्गत अस्पताल सेवा सुधारलाई पहिलो प्राथमिकतामा राखिएको छ। सोहीअनुसार ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ।
कार्यविधि कार्यान्वयनमा आए पनि यसको प्रभावकारी कार्यान्वयन तथा अस्पताल सेवामा थप सुधारका लागि थप पहलकदमी आवश्यक देखिएको मन्त्रालयको भनाइ छ।
मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहअन्तर्गत सञ्चालित सबै सरकारी अस्पतालमध्ये कार्यविधि कार्यान्वयनमा उत्कृष्ट कार्यसम्पादन गर्ने अस्पताल छनोट गरी निकट भविष्यमा पुरस्कृत गर्ने योजना अघि सारेको हो।
नागरिकलाई गुणस्तरीय, प्रभावकारी र जनमुखी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सबै तहका अस्पताललाई कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयले आग्रह गरेको छ। अस्पतालको सेवा जनअपेक्षाअनुसार सुधार गर्दै उत्कृष्टता प्रस्तुत गर्नसमेत मन्त्रालयले सबै सरकारी अस्पताललाई निर्देशन दिएको छ।
मन्त्रालयले अस्पताल सेवा सुधारसँगै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन आफू प्रतिबद्ध रहेको जनाएको छ। मन्त्रालयले अस्पताल तथा स्वास्थ्यकर्मीलाई सेवा सुधारका लागि प्रोत्साहित गर्न पुरस्कार तथा सम्मानको माध्यमबाट सकारात्मक प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने जनाएको छ।