काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच महिनाको स्वास्थ्य उपचारपछि पुनः सार्वजनिक जीवनमा फर्किएका छन्। साउन २८ गते स्वदेश फर्किएका देउवाले जारी गरेको वक्तव्यमार्फत आफ्नो स्वास्थ्यप्रति चासो र शुभेच्छा व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गर्दै मुलुकको समसामयिक राजनीति, कांग्रेसको आन्तरिक अवस्था र आगामी राजनीतिक दिशाबारे धारणा सार्वजनिक गरेका हुन्।
देउवाले नयाँ पुस्ताले उठाएका परिवर्तनका माग र ‘जेनजी’ आन्दोलनका जायज मुद्दालाई नेपाली कांग्रेसले आत्मसात् गर्नुपर्ने बताएका छन्। विश्व तीव्र गतिमा परिवर्तन भइरहेकाले नयाँ पुस्ताको भावना र अपेक्षाअनुसार अघि बढ्नु आवश्यक रहेको उनको भनाइ छ।
आफ्नो लामो राजनीतिक अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्न आफू तयार रहेको उल्लेख गर्दै देउवाले सशस्त्र द्वन्द्व व्यवस्थापनदेखि पार्टीभित्रका विभिन्न विवाद समाधानसम्मका अनुभव आगामी पुस्ताका लागि उपयोगी हुने बताएका छन्।
उनले २०३३ सालमा भारत निर्वासनबाट स्वदेश फर्किएका बीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीतिलाई स्मरण गर्दै अहिले पनि मुलुकलाई सुदृढ र सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्। जनतामा देखिएको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्नु सरकारको प्रमुख दायित्व भएको भन्दै उनले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर काम गर्न सरकारलाई आग्रह गरेका छन्।
कांग्रेसभित्र देखिएको असहमति र कार्यकर्तामा बढेको निराशाप्रति पनि देउवाले चिन्ता व्यक्त गरेका छन्। उनले तत्काल आन्तरिक समस्या समाधान गरी पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने आवश्यकता औंल्याएका छन्।
लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै देउवाले आवश्यकता परे राष्ट्रिय सहमतिका आधारमा मात्रै संविधान संशोधन गर्नुपर्ने धारणा राखेका छन्।
आफू पुनः सक्रिय राजनीतिमा शक्ति वा सत्ता प्राप्तिका लागि नभई मुलुकको सेवा र राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको देउवाको स्पष्टोक्ति छ। बाँकी जीवन राष्ट्र, लोकतन्त्र, संविधान र जनताको सर्वोत्तम हितमा समर्पित गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।