२०८३ साउन २० बुधबार

बाढीपहिरोका कारण तीन सडकखण्ड पूर्ण अवरुद्ध, ६ आंशिक खुला

ई आर्थिक    बुधबार, साउन २० २०८३
133
Shares
बाढीपहिरोका कारण तीन सडकखण्ड पूर्ण अवरुद्ध, ६ आंशिक खुला

काठमाडौं।  सडक विभागले बाढी र पहिरोबाट ३ वटा पूर्ण र ६ वटा सडकखण्ड आंशिकरूपमा अवरूद्ध भएका जनाएको छ।

विभागका अनुसार बाढी र पहिरोबाट ती सडक अवरुद्ध भएका हुन्। पहिरोका कारण अवरूद्ध २४ वटा सडकखण्ड सामान्य सुधारपछि सञ्चालनमा आएका छन्।

नेपाल प्रहरीका अनुसार पहिरो, नदी कटान, हिलो र सडक भासिँदा ती राजमार्ग प्रभावित भएका हुन्। बीपी राजमार्गअन्तर्गत धुलिखेल-सिन्धुली क्षेत्रमा बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यसैगरी, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग पनि वर्षाका कारण सडक हिलो भइ पूर्णरूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग भने विभिन्न तीन स्थानमा पहिरो, लेदो र सडक भासिँदा पूर्णरूपमा बन्द छ। उक्त राजमार्गका भोटेकोशी गाउँपालिका-४ जिरोकिलो, कोदारी, लिपिङ क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यस्तै, दोलखाको लामोसाँघु-रामेछाप सडक तामाकोशी गाउँपालिका-५ किर्नेटारमा सामाकोशीले सडक कटान गरेपछि पूर्णरूपमा बन्द भएको छ। यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको परिसरबाट वैकल्पिक मार्ग भने सञ्चालनमा ल्याइएको छ।

नेपाल प्रहरीले वर्षाका कारण सडकको अवस्था परिवर्तन भइरहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij