२०८३ साउन २० बुधबार

बाजुराको खाद्यान्न संकट समाधान गर्न मन्त्री यादवको निर्देशन, १२ महिना आपूर्ति सुनिश्चित गरिने

ई आर्थिक    बुधबार, साउन २० २०८३
114
Shares
बाजुराको खाद्यान्न संकट समाधान गर्न मन्त्री यादवको निर्देशन, १२ महिना आपूर्ति सुनिश्चित गरिने

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बाजुराका दुर्गम क्षेत्रमा वर्षभरि नै खाद्यान्नको सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई तत्काल आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ।

नेपाली कांग्रेसका तर्फबाट बाजुराका प्रतिनिधिसभा सदस्य जनकराज गिरी र स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बुधबार मन्त्री यादवसँग भेट गरी जिल्लामा वर्षेनि हुने खाद्यान्न अभावको गम्भीर समस्याबारे ध्यानाकर्षण गराउनुभएको थियो।

भेटका क्रममा प्रतिनिधिमण्डलले स्वामीकार्तिक खापर गाउँपालिकामा करिब ६ हजार दलित परिवार बसोबास गर्दै आएको र खाद्यान्न अभावका कारण बालबालिकासहित सर्वसाधारण कुपोषणको जोखिममा रहेको अवस्था प्रस्तुत गर्दै तत्काल विशेष पहल गर्न आग्रह गरेको जनाएको छ।

प्रतिनिधिमण्डलको गुनासो सुनेपछि मन्त्री यादवले बैठककै क्रममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महाप्रबन्धक रमेश आचार्यलाई मन्त्रालयमै बोलाएर आवश्यक प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभएको थियो।

मन्त्री यादवले बाजुराका दुर्गम क्षेत्रमा १२ महिनै खाद्यान्नको सहज आपूर्ति सुनिश्चित गर्न, आवश्यक परे कर्मचारी खटाएरै भए पनि प्रभावकारी रूपमा काम गर्न तथा खाद्य डिपो स्थापना गरी नियमित बिक्री–वितरणको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ।

भेटका क्रममा हाल उक्त क्षेत्रमा वर्षमा दुई पटक मात्र कर्मचारी पुग्ने गरेको गुनासो पनि मन्त्रीसमक्ष राखिएको थियो। त्यसप्रति गम्भीर ध्यान दिँदै मन्त्री यादवले दुर्गम क्षेत्रका नागरिक खाद्यान्न अभावबाट प्रभावित हुन नदिन मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको र आवश्यक व्यवस्थापनका सबै प्रक्रिया तत्काल अघि बढाइने स्पष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij