काठमाडौं । सरकारले विभिन्न ७ निर्णहरु सार्वजनिक गरेको छ । साउन २० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत, प्रशासनिक तथा कानुनी विषयसँग सम्बन्धित सात महत्वपूर्ण निर्णय गरेको हो ।
बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा काठमाडौंका याङकी उक्यावलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।
सरकारले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्दै उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिएको छ। यस निर्णयले यातायात तथा पारवहन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गरिएको छ। यसले मासुको गुणस्तर तथा खाद्य सुरक्षामा सुधार ल्याउने सरकारको अपेक्षा छ।
मन्त्रिपरिषद्ले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। यससँगै, विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्गबहादुर के.सी. (पर्वत) र सचिव पदमा प्रा. डा. रोजी श्रेष्ठ (भोजपुर)लाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।
बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको उपचार र राहतको व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।