काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग मुलुकको अर्थतन्त्रलाई पुनः गतिशील बनाउने विषयमा विस्तृत छलफल गरेका छन्। छलफलमा उद्यमीको विश्वास निर्माण, लगानी विस्तार, उत्पादन वृद्धि र आर्थिक गतिविधिलाई नयाँ गति दिने उपायहरूमा केन्द्रित भएर विचार–विमर्श भएको हो।
मंगलबार आयोजित भेटघाटलाई औपचारिक बैठकभन्दा पनि अर्थतन्त्रलाई पुनर्जीवित गर्ने साझा अभियानको अर्को चरणका रूपमा लिन अर्थमन्त्री वाग्लेले बैंकरहरूलाई आग्रह गरे।
निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग संवादपछि वित्तीय प्रणालीका नेतृत्वकर्तासँग छलफल गरिएको उल्लेख गर्दै उनले बैंकिङ प्रणाली नै उत्पादन, लगानी, बचत, वित्तीय विश्वास र समग्र आर्थिक गतिविधिको केन्द्र रहेको बताए।
‘बैंकमा बचतकर्ता, उद्यमी, किसान, लगानीकर्ता र नयाँ व्यवसाय सुरु गर्न चाहने युवासम्म पुग्ने भएकाले बजारको मनोविज्ञान, लगानीकर्ताको आत्मविश्वास र भविष्यप्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा बैंकिङ क्षेत्रले बुझ्न सक्छ,’ मन्त्री वाग्लेले भने।
उनले बजेटमार्फत सरकारले नेपालको आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरेको दाबी गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा सरकार केन्द्रित रहेको बताए। साथै, कार्यान्वयनका क्रममा देखिएका चुनौती समाधान गर्न बैंकिङ क्षेत्रको अनुभव र सुझाव आवश्यक रहेको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले सबैको साझा लक्ष्य अर्थतन्त्रलाई पुनः गतिशील बनाउनु रहेको उल्लेख गर्दै लगानी बढाउने, उत्पादन विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने र निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्न आग्रह गरे।
सरकारले नियामकीय, कानुनी तथा संस्थागत सुधारलाई अगाडि बढाइरहेको जानकारी दिँदै उनले हालका सुधारहरू पर्याप्त छन् वा छैनन् भन्ने विषयमा पनि बैंकरहरूको धारणा मागे।
बैंकरसमक्ष अर्थमन्त्रीका मुख्य प्रश्न
छलफललाई समाधानमुखी बनाउन अर्थमन्त्री वाग्लेले बैंकरहरूसमक्ष केही महत्वपूर्ण प्रश्न राखेका थिए। उनले अर्थतन्त्रको वर्तमान मनोविज्ञान, व्यवसायीहरू लगानी विस्तार गर्न किन हिच्किचाइरहेका छन्, ऐतिहासिक रूपमा न्यून ब्याजदर हुँदा पनि कर्जाको माग किन नबढेको, बैंकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादन र लगानीमा किन रूपान्तरण हुन नसकेको लगायतका विषयमा धारणा मागे।
त्यसैगरी, समस्या समाधान मौद्रिक नीति, वित्तीय नीति वा निजी क्षेत्रको आत्मविश्वासमध्ये कुन पक्षमा बढी निर्भर छ भन्ने विषयमा पनि उनले छलफल केन्द्रित गरे।
बैंकिङ प्रणालीबाट उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन आवश्यक संरचनागत सुधार, मौद्रिक नीति तथा नियमनमा अपनाउनुपर्ने नयाँ दृष्टिकोण र अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रबीचको समन्वय कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पनि सुझाव मागिएको थियो।
‘समस्या मात्रै होइन, समाधान र कार्ययोजनामा जोड’
अर्थमन्त्री वाग्लेले छलफल समस्या पहिचानमा मात्र सीमित नरहने स्पष्ट गर्दै समाधान, समयसीमा र जिम्मेवारीसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
‘जहाँ कानुनी सुधार आवश्यक हुन्छ, त्यहाँ कानुन संशोधन गर्छौं। प्रक्रियागत समस्या भए प्रक्रिया परिवर्तन गर्छौं। संस्थागत समन्वय आवश्यक परे त्यसलाई थप प्रभावकारी बनाउँछौं। सरकारबाट निर्णय आवश्यक भए त्यसमा पछि हट्ने छैनौं,’ उनले भने।
उनका अनुसार सरकारको लक्ष्य अर्थतन्त्रलाई प्रतिक्रियात्मक ढंगले होइन, आत्मविश्वास र भविष्यप्रतिको आशा बढाउने गरी अघि बढाउनु हो।
अर्थमन्त्रीले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमनमा सीमित नभई साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध भएको उल्लेख गरे। आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्व सरकार तथा बैंकिङ क्षेत्रको साझा उद्देश्य रहेको भन्दै उनले मंगलबार प्राप्त सुझावलाई कार्यान्वयनयोग्य स्पष्ट रोडम्यापमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाए।