२०८३ साउन १९ मंगलबार

विभिन्न २१ मुलुकमा राजदूत नियुक्त गरिँदै

ई आर्थिक    मंगलबार, साउन १९ २०८३
475
Shares
विभिन्न २१ मुलुकमा राजदूत नियुक्त गरिँदै

काठमाडौं । नेपाल सरकारले विभिन्न २१ मुलुक र नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने तयारी थालेको छ।

राजदूत रिक्त रहेका १६ दूतावाससहित चारवर्षे कार्यकाल सकेर केही समयका लागि म्याद थपेर काम गरिरहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र राष्ट्र संघीय नियोग भियनासमेत २१ नियोगमा दुई हप्ताभित्र राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

हाल १५ मुलुक र नियोगमा मात्र राजदूत छन् भने १६ मुलुक र नियोगमा राजदूत रिक्त छन्। हाल विभिन्न मुलुकमा नेपाली राजदूतावास रहेको सङ्ख्या २८ छ। त्यसबाहेक संयुक्त राष्ट्र संघको लागि स्थायी मिसन न्यूयोर्क, जेनेभा र भियना तथा आठ महावाणिज्य दूतावास आठ गरी ३९ मिसन रहेको मन्त्रालयको तथ्यांक छ।

हाल न्यूयोर्क, जेनेभा, भियना, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, इजिप्ट, फ्रान्स, कुवेत, म्यानमार, पाकिस्तान, पोर्चुगल, थाइल्यान्ड र यूएईमा राजदूत रहेका छन्। त्यस्तै अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजराइल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरब, श्रीलंका, बेलायत, अमेरिका, स्पेनमा राजदूत रिक्त रहेको मन्त्रालयले जनाएको छ।

सरकारले यस आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कका तीन राजदूतावास भने बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रालयका अनुसार हाल राजदूतको खुल्ला आवेदनबाट आएका आवेदनको अध्ययन भइरहेको छ। त्यसमध्येबाट नै राजदूत नियुक्त गर्ने सरकारको तयारी छ।

खुला आवेदनबाट पहिलोपटक राजदूत नियुक्ति सिफारिस हुन लागेको हो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij