चितवन। बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना भएका छन्। गत आर्थिक वर्षमा काठमाडौं उपत्यकाबाहेकका प्रदेशका ती जिल्लामा सो सङ्ख्यामा दुर्घटना भएका हुन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार गत आवमा प्रदेशका १० जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै दुर्घटना भएका छन्। चितवनमा ५४५ दुर्घटना भएको कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार सबैभन्दा कम दुर्घटना हुने जिल्लाका रुपमा रामेछाप रहेको छ। सो जिल्लामा एक वर्षमा ४७ दुर्घटना भएका छन्। प्रदेशभित्र दुर्घटनाका हिसाबले मकवानपुर दोस्रो, धादिङ तेस्रो, सिन्धुली चौथो स्थानमा छन्।
यस्तै, काभ्रे, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक र रामेछाप क्रमशः छन्। एक वर्षमा भएका दुर्घटनामध्ये मुख्य राजमार्गमा धेरै दुर्घटना भएको उनले जानकारी दिए।उनका अनुसार मुख्य राजमार्गमा एक हजार ११४, ग्रामीण सडकमा ५३९ र सहरी क्षेत्रमा २७१ दुर्घटना भएका छन्।
प्रदेशभित्र सवारी दुर्घटना दिनको १२ बजेदेखि साँझको ६ बजेसम्म बढी दुर्घटना भएका छन्। प्रमुख पाण्डेका अनुसार सो समयमा ७४० दुर्घटना भएका छन्। साँझ ६ बजेदेखि राति १२ बजेसम्म ५७२ वटा, बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म ४९४ र राति १२ बजेदेखि बिहान ६ बजेसम्म ११८ सवारी दुर्घटना भएका छन्।
कार्यालयको तथ्यांकअनुसार प्रदेशका १० जिल्लामा भएका दुर्घटनामा परी एक वर्षमा ३४० जनाले ज्यान गुमाएका छन् भने तीन हजार ७६३ जना घाइते भएका छन्।
अघिल्लो आव २०८१/०८२ मा प्रदेशभित्र दुई हजार ४१२ दुर्घटना भएका थिए। ती दुर्घटनामा परी ३०४ जनाले ज्यान गुमाएका थिए भने चार हजार ७४७ जना घाइते भएका थिए। रासस