राजविराज (सप्तरी) : सप्तरीको राजविराज नगरपालिका क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सप्तरीले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहान जारी गरेको सूचनाअनुसार शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु लागू गरिएको हो।
प्रशासनका अनुसार कर्फ्यु क्षेत्रको पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही, उत्तरमा रूपनी रोडअन्तर्गत बसबिट्टी तथा दक्षिणमा कोशी पश्चिमी मूल नहरसम्मको क्षेत्र समेटिएको छ।
प्रशासनले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा आन्दोलन वा अन्य अवाञ्छित गतिविधिका कारण शान्ति–सुरक्षामा प्रतिकूल असर पर्न सक्ने आकलन भएकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको उक्त आदेश अर्को सूचना प्रकाशित नभएसम्म प्रभावकारी रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।