कल्याणपुर (सप्तरी) । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराज विमानस्थलबाट रात्रीकालीन उडान सेवाको उद्घाटन गरेको करिब डेढ वर्ष बितिसक्दा पनि नियमित सेवा सुरु हुन सकेको छैन।
२०८१ मङ्सिर २९ गते उहाँले राजविराज विमानस्थलमा रात्रीकालीन उडानको परीक्षण गर्दै चाँडै नियमित सेवा सुरु हुने घोषणा गर्नुभएको थियो। त्यसबेला स्थानीयवासीमा ठुलो उत्साह देखिएको थियो। बुद्ध एयरले पनि २०८१ चैत २९ गतेदेखि दैनिक दुई उडान सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो। तर घोषणा भएको करिब डेढ वर्ष बितिसक्दा पनि रात्रीकालीन उडान परीक्षणमै सीमित बनेको छ।
रात्रीकालीन उडानका लागि आवश्यक धावनमार्गका बत्ती, उपकरण तथा अन्य प्राविधिक पूर्वाधार तयार भइसके पनि नियमित सेवा सुरु हुन नसक्दा स्थानीय, व्यवसायी तथा यात्रु निराश बनेका छन्।
राजविराज विमानस्थलका प्रमुख हिरोन साहका अनुसार रात्रीकालीन उडान सञ्चालनका लागि विमानस्थल पूर्ण रूपमा तयार छ। “हामीले आवश्यक सबै पूर्वाधार तयार गरिसकेका छौँ। सेवा प्रदायक कम्पनीले चाहेको बेला रात्रीकालीन उडान सञ्चालन गर्न सक्छ,” उहाँले भन्नुभयो।
यता बुद्ध एयरका स्टेशन म्यानेजर अनिल राजवंशीले यात्रुको सङ्ख्या अपेक्षाअनुसार नबढेका कारण हाललाई योजना स्थगित गरिएको बताउनुभयो।
उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १८ हजार ४६८ जनाले राजविराज विमानस्थलबाट हवाई सेवा लिएका छन्। अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या २१ हजार ३६१ रहेको थियो।
हाल राजविराज–काठमाडौँ रुटमा बुद्ध एयरले दैनिक एक मात्र उडान सञ्चालन गर्दै आएको छ। सुरुमा ४९ सिट क्षमताको विमान प्रयोग गरिए पनि यात्रुको चाप बढेपछि अहिले ७२ सिट क्षमताको विमानबाट दैनिक उडान भइरहेको छ। त्यसका बाबजुद दोस्रो अर्थात् साँझको उडान अझै सञ्चालनमा आउन सकेको छैन।
स्टेशन म्यानेजर राजवंशीका अनुसार हवाई इन्धनको मूल्यवृद्धिका कारण भाडादर बढेको र त्यसको प्रत्यक्ष असर यात्रु सङ्ख्यामा परेको छ। “यात्रुको सङ्ख्या बढ्दै गएपछि भविष्यमा रात्रीकालीन उडान सञ्चालन गर्ने योजना पुनः कार्यान्वयन हुन सक्छ,” उहाँले आश्वासन दिनुभयो।
सप्तरी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अरुण प्रधानले राजविराज विमानस्थल सप्तरी मात्र नभई सिरहा, उदयपुर, सुनसरी तथा सीमावर्ती भारतीय क्षेत्रका यात्रुका लागि पनि महत्त्वपूर्ण केन्द्र बनेको बताउनुभयो। तर दैनिक दुई उडान सञ्चालन नहुँदा यात्रुले आवश्यक समयमा काठमाडौँ आवतजावत गर्न कठिनाइ भोगिरहेको उहाँको भनाइ छ।
उहाँले सरकार र सेवा प्रदायक कम्पनीबिच समन्वय गरी तत्काल रात्रीकालीन उडान सञ्चालन गर्नुपर्ने माग गर्नुभयो। “विमानस्थलको पूर्वाधार तयार भएर पनि सेवा विस्तार हुन नसक्नु राज्यको लगानी र स्थानीय जनताको अपेक्षाअनुसार परिणाम दिन नसक्नु हो,” प्रधानले भन्नुभएको समाचार बीबीसीले लेखेको छ ।