२०८३ साउन १२ मंगलबार

रास्वपाको महाधिवेशनले चितवनको अर्थतन्त्र चलायमान, अफ सिजनमै होटल भरिभराउ

ई आर्थिक    बिहिबार, असार ११ २०८३
627
Shares
रास्वपाको महाधिवेशनले चितवनको अर्थतन्त्र चलायमान, अफ सिजनमै होटल भरिभराउ

चितवन : सामान्यतया पर्यटन र होटल व्यवसायका लागि सुस्त मानिने असार महिनामा यस वर्ष चितवनको पर्यटन तथा सेवा क्षेत्र अप्रत्याशित रूपमा चलायमान बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनले जिल्लाको होटल, रेस्टुरेन्ट, यातायात तथा खुद्रा व्यापार क्षेत्रमा उल्लेखनीय आर्थिक गतिविधि बढाएको हो।

असार ७, ८ र ९ गतेका लागि तय गरिएको महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक, शुभेच्छुक तथा सञ्चारकर्मीको उपस्थितिले चितवनका अधिकांश होटल भरिएका छन्। महाधिवेशनको कार्यतालिका लम्बिँदै जाँदा सहभागीहरूको बसाइ अवधि पनि बढेको छ, जसको प्रत्यक्ष लाभ स्थानीय व्यवसायले उठाइरहेको छ।

होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष ऋषिकेश अर्यालका अनुसार असार ६ गतेदेखि नै भरतपुर, नारायणगढ, गैँडाकोट, जुगेडी, सौराहा, जगतपुर र मेघौली क्षेत्रका अधिकांश होटल पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन्।

“धेरै समयपछि होटल व्यवसायले यति ठूलो चहलपहल देखेको छ। गर्मीका कारण विशेष गरी एसी कोठाको माग अत्यधिक बढेको छ,” अर्यालले बताउनुभयो।

चितवनमा सङ्घमा आबद्ध करिब एक हजार होटलमध्ये ६ सयभन्दा बढी भरतपुर–नारायणगढ क्षेत्रमा रहेका छन्। महाधिवेशनका कारण अधिकांश होटलमा कोठा पाउन कठिन भएको व्यवसायीहरू बताउँछन्।

होटल मात्र होइन, समग्र बजारमा उत्साह

चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीका अनुसार महाधिवेशनले होटल व्यवसाय मात्र नभई समग्र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ।

“यस्ता ठूला कार्यक्रमले बजारमा नगद प्रवाह बढाउँछन्। होटल, रेस्टुरेन्ट, यातायात, स्टेसनरी, खाद्यान्न पसलदेखि साना व्यवसायसम्म लाभान्वित भएका छन्,” उहाँले भन्नुभयो।

उहाँका अनुसार प्रतिनिधिहरूको बसाइ लम्बिँदा दैनिक उपभोग्य वस्तु र सेवाको माग बढेको छ, जसले स्थानीय व्यवसायीमा नयाँ उत्साह थपेको छ।

सौराहाले पनि पायो फाइदा

महाधिवेशन भरतपुरमा केन्द्रित भए पनि यसको प्रभाव पर्यटकीय नगरी सौराहासम्म पुगेको छ। क्षेत्रीय होटल सङ्घ सौराहा च्याप्टरका महासचिव महेश खनालका अनुसार सौराहाका होटलहरूको अकुपेन्सी दर करिब ८० प्रतिशत पुगेको छ।

“कार्यक्रम भरतपुरमा भए पनि धेरै पाहुना बस्न र घुम्न सौराहा आएका छन्,” उहाँले भन्नुभयो।

सहभागीहरूले चितवन राष्ट्रिय निकुञ्ज आसपासका पर्यटकीय गतिविधि तथा स्थानीय आतिथ्य सेवाको समेत उपयोग गरेकाले पर्यटन व्यवसायले अफ सिजनमा समेत राम्रो कारोबार गर्न सफल भएको खनालको भनाइ छ।

सम्मेलन पर्यटनको सम्भावना उजागर

व्यवसायीहरूका अनुसार चितवनमा यस्ता राष्ट्रियस्तरका महाधिवेशन, सम्मेलन र प्रदर्शनी नियमित आयोजना गर्न सके पर्यटन तथा सेवा क्षेत्रलाई वर्षभरि नै सक्रिय बनाउन सकिन्छ।

क्षेत्रीय होटल सङ्घ सौराहा च्याप्टरका अध्यक्ष ओम पाण्डेले कार्यक्रम सुरुमा टाँडीमा गर्ने योजना रहे पनि भरतपुरमा सारिँदा व्यवस्थापन सहज भएको बताउनुभयो।

“सौराहामा अहिले एकैपटक चार हजारभन्दा बढी पाहुनालाई आवास दिन सक्ने क्षमता छ। त्यसभन्दा धेरै भए व्यवस्थापन चुनौतीपूर्ण हुन सक्छ,” उहाँले भन्नुभयो।

यसअघि नेकपा (एमाले) को महाधिवेशनले पनि चितवनको अर्थतन्त्रलाई चलायमान बनाएको थियो। व्यवसायीहरूका अनुसार यस्ता कार्यक्रमको प्रभाव तत्कालीन आर्थिक गतिविधिमा मात्र सीमित नहुने, दीर्घकालीन रूपमा पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij