२०८३ साउन ९ शनिबार

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट, ११ हजारभन्दा बढी योजना दर्ता

ई आर्थिक    सोमबार, जेष्ठ १८ २०८३
1.2K
Shares
कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट, ११ हजारभन्दा बढी योजना दर्ता

सुर्खेत ।  कर्णाली प्रदेश योजना बैंकमा विभिन्न मन्त्रालय तथा स्थानीय तहबाट धमाधम आयोजना प्रविष्ट हुने क्रम जारी रहेको छ। हालसम्म सबै मन्त्रालयबाट ११ हजार २ सय ६२ वटा आयोजना योजना बैंकमा प्रविष्ट गरिएका छन् भने ९ सय ३० वटा आयोजना प्रक्रियामा गइसकेका छन्।

प्रदेश योजना आयोगका अनुसार प्रविष्ट भएका आयोजनामध्ये भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत सबैभन्दा बढी दुई हजार ६२ वटा आयोजना रहेका छन्। आगामी आर्थिक वर्षका लागि स्थानीय तह हुँदै प्रदेशका विषयगत मन्त्रालयमार्फत योजना आयोगमा उक्त संख्याका आयोजना प्रविष्ट गरिएका हुन्।

प्रदेश सरकारको नीतिअनुसार १० जिल्ला र ७९ वटा स्थानीय तहबाट प्राप्त योजनाहरू प्रदेश योजना आयोगमा प्रविष्ट भएपछि मात्र कार्यान्वयन प्रक्रियामा जाने व्यवस्था रहेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट भाषणअघि सम्बन्धित मन्त्रालयले प्रस्ताव गरेका योजनाको विवरण सार्वजनिक गर्ने अभ्यासलाई निरन्तरता दिएको छ।

कर्णाली प्रदेशमा सबैभन्दा बढी बजेट प्राप्त गर्ने तथा विकास निर्माणका योजना कार्यान्वयन गर्ने मन्त्रालयमध्ये भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अग्रस्थानमा रहेको छ। मन्त्रालयले भौतिक पूर्वाधार क्षेत्रका दुई हजार ६२ वटा आयोजना योजना बैंकमा प्रविष्ट गरी सार्वजनिक गरेको जनाएको छ।

प्रदेश योजना आयोगका उपाध्यक्ष अशोकनाथ योगीले योजना बैंकमा प्रविष्ट भएकामध्ये १० हजार ३ सय ३२ वटा आयोजना आगामी दिनमा कार्यान्वयनमा जाने जानकारी दिए।

यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बजेट निर्माण प्रक्रियालाई व्यवस्थित र सहज बनाउन योजना बैंकमा आयोजना प्रविष्ट गरी प्राथमिकताका आधारमा छनोट गर्ने कार्य भइरहेको बताए। उनले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच साझा बुझाइ, समन्वय तथा सहकार्य आवश्यक रहेको उल्लेख गरे।

प्रदेश सरकारले योजना बैंकलाई व्यवस्थित बनाउँदै विकास आयोजनाको छनोट र कार्यान्वयन प्रक्रियालाई थप पारदर्शी तथा प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij