काठमाडौं। वैशाख महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार अधिकांश बैंकहरूले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् भने केही बैंकहरूले ब्याजदर घटाएका छन्।
उपलब्ध तथ्यांक अनुसार १० वटा वाणिज्य बैंकले चैत महिनामा कायम गरिएको ब्याजदरलाई नै वैशाखमा पनि लागू गरेका छन्। स्थिर दर कायम गर्ने बैंकहरूमा एनएमबि बैंक, प्रभु बैंक, सानिमा बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंक लगायत छन्। यसैगरी नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंकले पनि आफ्नो अघिल्लो दरलाई निरन्तरता दिएका छन्।
यता ७ वटा वाणिज्य बैंकहरूले भने ब्याजदर घटाएका छन्। सिद्धार्थ बैंकले अघिल्लो महिनाको तुलनामा दर घटाएर ४ प्रतिशतमा ल्याएको छ। राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र कुमारी बैंकले पनि ब्याजदरमा कटौती गरेका छन्।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने वैशाखका लागि ४.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
समग्रमा हेर्दा वैशाख महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर घटेर ४.४ प्रतिशतमा झरेको छ। अघिल्लो महिनाको तुलनामा यसमा करिब ०.०९ प्रतिशत बिन्दुको गिरावट आएको हो। यस्तै संस्थागत मुद्दति निक्षेपको औसत ब्याजदर पनि घटेर करिब ३.२२ प्रतिशतमा सीमित भएको छ।
धेरै बैंकहरूले ब्याजदर घटाएका कारण समग्र बैंकिङ प्रणालीको औसत निक्षेप दरमा गिरावट देखिएको छ।