काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निर्णयहरूको जानकारी दिँदै बृहत लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकले उपलब्ध गराउने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको बताइन्।
बैठकले ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा रहेको जलश्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नम्बर ३ मा स्थानान्तरण गरी, हालको भवनमा जल तथा ऊर्जा आयोगको सचिवालयको कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको छ।
यसैगरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतम र सदस्य ललिता कुमारी महर्जन तथा ध्रुव आचार्यको राजीनामा स्वीकृत गरिएको छ।
सडक र पूर्वाधारसम्बन्धी निर्णयअनुसार नागढुङ्गा सुरुङ मार्गको पश्चिम खण्डमा पर्ने धुनीबेँसी नगरपालिका वडा नम्बर ९ मा करिब ९ रोपनी निजी जग्गा प्राप्त गर्न स्वीकृति दिइएको छ भने पासाङल्हामु राजमार्गको बेत्रावती–धुन्चे–स्याफ्रुवेशी सडक खण्डको बुनुवा घुम्तीमा पर्ने उत्तरगया गाउँपालिका वडा नम्बर ५ मा करिब २ रोपनी निजी जग्गा प्राप्त गर्ने स्वीकृति पनि प्रदान गरिएको छ।
त्यस्तै, काठमाडौं–तराई–मधेश द्रुतमार्गको निर्माणका लागि काठमाडौँ, ललितपुर र मकवानपुर जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्रको ४६.३९ हेक्टर जग्गा प्रयोग गर्न दिने र उक्त क्षेत्रका १८९८ रुख पोल हटाउन अनुमति दिने निर्णय पनि गरिएको छ।
बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर गुणाकर भट्ट (डोटी)लाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नर पदमध्ये एकमा बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्ति दिने निर्णय पनि भएको छ।
यस्तै, पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गर्दै पेट्रोलियम पदार्थको आपूर्ति असहजताका कारण आवश्यक परे जोर–बिजोर प्रणाली लागू गर्ने र ‘वर्क फ्राम होम’ तथा विद्युतीय साधनको प्रयोग बढाउन जनतालाई आव्हान गर्ने निर्णय पनि बैठकले गरेको मन्त्रालयले जनाएको छ।