काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसनमार्फत त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित ३ जना कर्मचारीलाई घुस, स्रोत नखुलेको रकम र २३ थान मोबाइल सेटसहित नियन्त्रणमा लिएको छ।
अख्तियारका अनुसार अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागको गोश्वारा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई मिति २०८२ माघ १८ गते नियन्त्रणमा लिइएको हो।
कुरियर कम्पनीमार्फत विदेशमा सामान पठाउने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिएको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारमा स्टिङ अपरेसन सञ्चालन गरेको थियो।
अपरेसनका क्रममा कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको दराजबाट घुस बापत लिइएको १० हजार रुपैयाँ, स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ र उनको साथबाट बरामद ९६ हजार ७० रुपैयाँ गरी जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ।
यस्तै, नायब सुब्बा छवि प्रसाद रिजालको साथबाट घुस बापत लिइएको २० हजार रुपैयाँ र स्रोत नखुलेको १८ हजार ८४८ रुपैयाँ बरामद गरिएको छ। अन्य स्रोत नखुलेको रकमसमेत गरी अख्तियारले कुल २ लाख ६८ हजार २८८ रुपैयाँ नगद तथा विभिन्न व्यक्तिहरूबाट संकलन गरिएका २३ थान मोबाइल सेट नियन्त्रणमा लिएको जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नियन्त्रणमा लिइएका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ।